यही बैशाख ५ गतेदेखि ७ गतेसम्म गोरखा जिल्लाको लाप्राकमा आयोजना भएको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (नेरुफ) का विजेतालाई अवार्ड वितरण गरिएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच आयोजक संस्था सेलिब्रेटी नेपालले विभिन्न विधामा उत्कृष्ट हुने फिल्मकर्मीलाई अवार्ड वितरण गरेको हो । यस महोत्सवमा जुरी टिमले ९ विधामा उत्कृष्ट छनोट गरेको थियो ।

महोत्सवमा फिल्म ‘चिसो आत्मा’बाट सर्वोकृष्ट अभिनेता बनेका प्रविन खतिवडा र फिल्म ‘मौन प्रतिशोध’बाट सर्वोत्कृष्ट अभिनेत्री घोषित भएकी शारदा अधिकारीलाई अवार्ड प्रदान गरियो भने उत्कृष्ट फिचर फिल्मतर्फ ‘टुल्की’ले जितेको अवार्ड निर्माता आरपी कर्माचार्यलाई प्रदान गरियो । त्यस्तै, ‘टुल्की’ले जितेको उत्कृष्ट ‘स्क्रिन प्ले’को अवार्ड फिल्मका लेखक शेखर लामाले ग्रहण गरे ।
फिल्म ‘टिष्टापारीको साइनो’बाट उत्कृष्ट निर्देशक घोषित भएका खिलबहादुर गुरुङले पनि कार्यक्रममा अवार्ड उचाले । चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षासिंह राणा, महोत्सव आयोजक संस्था सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटा, गायक एवं संगीतकार राज सागर, अभिनेता तथा निर्माता गजित विष्ट लगायतले महोत्सवमा उत्कृष्ट हुनेहरुलाई अवार्ड प्रदान गरेका थिए ।
कार्यक्रममा अवार्ड वितरणसँगै आयोजक संस्थाले फिल्मीखबर डटकमका पत्रकार अन्जान दाहाल (मनिष) लाई सम्मान गरेको छ । समाचारको माध्यमबाट पत्रकारितामा पुर्याएको योगदानको मुल्यांकन गर्दै पत्रकार दाहाललाई सम्मान गरिएको हो । उनीसँगै प्रेम पाण्डे, वर्षा खड्का, सुदिप पोखरेल, सुनिल पोखरेल, प्रेम कुमार श्रेष्ठ, रामशरण रानालाई पनि सम्मान पत्र प्रदान गरियो ।
.jpg)
महोत्सवको जुरी टिममा रहेका कलाकार रबिन्द्र खड्का, लेखक शिवम अधिकारी, सम्पादक शिव पुरी, साउन्ड एडिटर किशोर आचार्य, पत्रकार तथा फिल्म निर्देशक लक्ष्मण सुवेदीलाई पनि जुरी प्रमाणपत्र वितरण गरिएको थियो । चलचित्र विकास बोर्डसँगले सहकार्य गरेको महोत्सवको सह-आयोजकमा भ्वाइस अफ नेपाल म्युजिक इन्डष्ट्रिज र डिजिटल पार्टनर डिएआर डिजिटल थियो ।

