Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बलात्कार हुने वितिक्कै चिच्याउनुपर्छ’ भनेपछि रमेश उप्रेती विवादमा

फिल्मीखबर, काठमाडौं, 2022/05/05
नेपाली कलाकारहरु कुन विषयमा के बोल्नुपर्छ र आफूले बोल्ने शब्दको अर्थ के हुन्छ भन्ने कुराको हेक्का नै गर्दैनन् । मुखमा आएको कुरा सेन्सर नगरी बोलिदिन्छन् । यसैले बेला-बखतमा कलाकारहरु आफ्नै बोलीले आलोचित र विवादित बन्ने गरेका छन् । समाजका मार्गदर्शक मानिने कलाकारहरुले गम्भीर विषयमा समेत हलुका अभिव्यक्ति दिँदा कला क्षेत्र नै बदनाम बनेको छ । 
 
केही समय अगाडि अभिनेता पल शाहको बचाउमा अभिनेत्री पूजा शर्माले बलात्कार के हो भन्ने कुराको ज्ञान बाँडेकी थिइन् । पल शाहले नाबालिगको कपडा च्यातेको भए बलात्कार हुने उनको भनाई थियो । यो अभिव्यक्तिले पूजाको चर्को आलोचना भयो । पछि उनले बोली सच्चाइन् । यतिबेला अभिनेता रमेश उप्रेतीलाई पनि बलात्कारबारे दिएको परिभाषाले विवादमा ल्याएको छ । 
 
Ramesh Upreti
 
पल शाह निर्दोष रहेको वकालत गर्न एक टेलिभिजनमा अन्तर्वार्ता दिन पुगेका उनले बलात्कारको परिभाषा दिँदै भनेका छन्, ‘बलात्कार हुने वितिक्कै कराउनु र चिच्याउनु पर्‍यो या भोलीपल्टै पुलिसमा गएर उजुरी दिनुपर्छ । एक वर्षपछि उजुरी दिएर हुँदैन । अनि, हरेक ठाउँमा बलात्कार हुँदैन । एक ठाउँमा भएपछि भयो । कुरा मिल्दा चमत्कार, नमिल्दा बलात्कार भन्नु राम्रो होइन ।’
 
अन्तर्वार्तामा उनले अदालतको न्यायाधीश बनेर पललाई निर्दोष ठहर गर्न पनि भ्याए । उनले नाबालिगसँगको सम्बन्ध बलात्कार नभएको दाबी गर्दै अगाडि भनेका छन्, ‘उनीहरुबीच सम्बन्ध भयो होला तर बारबार बलात्कार हुँदै हुँदैन । यो कुरामा म क्लियर छु । पल शाह पीडक हुँदै होइन । उसले त्यति ठूलो क्राइम गरेकै होइन । तर, कहिले काहिँ राम्रो मान्छेले पनि परीक्षा दिनुपर्छ ।’ 
 
बलात्कार हुने वितिक्कै कराउनु वा चिच्याउनु पर्छ भन्दै अदालतले निर्णय नै नगरेको मुद्धामा अभिनेता उप्रेतीले बलात्कारको आरोप लागेर थुनामा रहेका पल शाह निर्दोष रहेको दलिल पेश गरेपछि धेरैले उनको चेतनास्तर र मानसिकतामाथि प्रश्न उठाएका छन् । उनको अभिव्यक्तिलाई पुरातनबादी सोच र पुरुषबादी मानासिकताको असली अनुहारको रुपमा ब्याख्या गरिएको छ । 
 
उनको यो अभिव्यक्तिको अभिनेत्रीहरुले पनि विरोध जनाएका छन् । अभिनेत्री स्वस्तिमा खड्काले रमेश उप्रेतीले बलात्कारबारे दिएको अभिव्यक्तिको भिडियो क्लिप इन्स्टाग्राम स्टोरीमा सेयर गर्दै उनको यो बोलीलाई नेपालका अधिकांश मानिसहरुको मानसिकता र रवैयाको संज्ञा दिएकी छन् । अर्की अभिनेत्री बेनिशा हमालले ‘के बोलेको’ भन्दै रमेश उप्रेतीलाई प्रश्न गरेकी छन् । 
 
swastima and benisha
 
हुन पनि, रमेश उप्रेतीले बलात्कारबारे दिएको अभिव्यक्ति गैरजिम्मेवार र संवेदनहीन देखिन्छ । राष्ट्रको गौरव मानिने कलाकारले अत्यन्त गम्भीर विषयमा यसप्रकारको हलुका अभिव्यक्ति दिनु महिला हिंसालाई प्रोत्साहन गर्नु हो । समाजलाई सही दिशामा डोर्‍याउने कलाकारले नै बलात्कारको घटनालाई ‘मन मिले चमत्कार, नमिले बलात्कार’को रुपमा परिभाषित गर्नु विडम्बना हो ।
Most Visited News (monthly)