Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र विकास बोर्डको अध्यक्ष बन्न कांग्रेस प्रवेश गरेका हुन् भुवन ?

फिल्मीखबर, काठमाडौं, 2022/05/04
नेपाली फिल्म क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डलाई राजनीतिक दलको कार्यकर्ता भर्ती गर्ने केन्द्र भनिन्छ । कुनै पार्टी सत्तामा छ भने त्यस पार्टीमा आबद्ध फिल्मकर्मीले बोर्डको अध्यक्ष वा सदस्य पोल्टामा पाउने गरेका छन् । यसैले आफू आबद्ध भएको पार्टी सरकारमा आएपछि फिल्मकर्मीहरु बोर्ड अध्यक्ष वा सदस्य बन्न अनुभवको सर्टिफिकेट च्यापेर मन्त्रालय कुद्ने गर्छन् ।
 
अहिले नेकपा एमाले निकट मानिने निर्देशक दयाराम दाहाल चलचित्र विकास बोर्डको अध्यक्ष छन् । उनी केपी शर्मा ओली प्रधानमन्त्री हुँदा अध्यक्षमा नियुक्त भएका थिए । बोर्ड अध्यक्षको कार्यकाल २ वर्षको हुन्छ । दाहालले जेठ दोस्रो साता आफ्नो २ वर्षे कार्यकाल पूरा गर्दैछन् । उनको कार्यकाल सकिनै लाग्दा कांग्रेस निकट फिल्मकर्मीहरुको जोडतोडले दौडधुप सुरु भएको छ ।
 
भुवन केसी : गायक हुँदै अभिनेता
 
कांग्रेसका सभापति प्रधानमन्त्री र सोही पार्टीले सञ्चार मन्त्रालयको पनि जिम्मेवारी सम्हालेकाले यसपटक कांग्रेस निकट फिल्मकर्मी नै बोर्डको अध्यक्ष बन्ने लगभग पक्का छ । बोर्ड अध्यक्षको दौडमा तीर्थ थापादेखि भुवन केसीसम्मको नाम चर्चा छ । भुवन मंगलवार मात्र कांग्रेस बनेका हुन् । उनले रातारात कांग्रेस प्रवेश गर्नुलाई बोर्ड अध्यक्ष बन्नकै लागि हुनसक्ने विश्लेषण गरिएको छ ।
 
कम्यूनिष्ट विचारधारा बोक्ने भुवन पहिला कट्टर एमाले हुन् । उनले २०७० सालको निर्वाचनमा प्रत्यक्षतर्फ काठमाडौं क्षेत्र नं. १ बाट टिकट पाएका थिए । तर, चौतर्फी विरोध भएपछि एमालेले उनलाई दिएको टिकट २४ घन्टामै खोस्यो । त्यसयता उनी एमालेको राजनीतिबाट टाढा थिए । यद्यपि, केपी ओली प्रधानमन्त्री हुँदा उनी बोर्ड अध्यक्ष बन्नका लागि धेरै पटक बालुवाटार धाएका थिए ।
 
तर, ओलीले भुवनको सट्टा दयाराम दाहाललाई बोर्ड अध्यक्ष बनाए । एमाले भएर कुनै नियुक्त खान नपाएपछि उनी केही समययता विभिन्न पार्टीसँग निरन्तर छलफलमा थिए । उनी राप्रपामा प्रवेश गर्ने चर्चा पनि चलेको थियो । त्यस्तै, अधिवक्ता स्वागत नेपालको पार्टीबाट उनी काठमाडौंको मेयरमा उठ्न पनि तयार भएका थिए । तर, पछि उनले व्यस्तताका कारण मेयरमा नउठ्ने बताए ।
 
अन्ततः सबैलाई चम्का दिँदै मंगलवार कांग्रेसको टीका लगाएपछि उनी चलचित्र विकास बोर्डको अध्यक्ष पाउने पक्का भएरै कांग्रेस प्रवेश गरेको टिका-टिप्पणी भइरहेको छ । तर, भुवनले आफूले पद पाउन कांग्रेस नरोजेको बताएका छन् । यद्यपि, सरकारले बोर्ड अध्यक्षको जिम्मेवारी दिए आफू तयार रहेको उनको भनाई छ । यदी उनी बोर्ड अध्यक्ष भइहाले भने कसैले अचम्म नमान्दा हुनेछ ।
Most Visited News (monthly)