Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फेरि घरकै फिल्ममा सुहाना

फिल्मीखबर, काठमाडौं, 2022/05/03
माता र पिता फिल्मसँग जोडिएकाले अभिनेत्री सुहाना थापा फिल्मी माहोलमै हुर्किइन् । ठूूलो भएपछि अध्ययनको शिलशिलामा अमेरिका गएकी उनले अन्ततः परिवारकै विरासत सम्हालेकी छन् । आमा झरना थापाले निर्देशन र पिता सुनिल कुमारले निर्माण गरेको फिल्म ‘ए मेरो हजुर ३’बाट उनले अभिनेत्रीको रुपमा डेब्यू गरिन् । उनलाई डेब्यू फिल्मले नै सफलताको उचाईमा पुर्‍यायो ।
 
डेब्यू फिल्मपछि उनलाई बाहिरी ब्यानरका फिल्महरुबाट पनि अफर आएका थिए । तर, उनले दोस्रो फिल्म पनि घरकै गर्ने निर्णय गरिन् । उनी अभिनीत दोस्रो फिल्म ‘ए मेरो हजुर ४’ यतिबेला प्रदर्शनरत छ । फिल्मले राम्रो कमाई गर्नुका साथै उनको अभिनयको पनि प्रशंसा भइरहेको छ । यो फिल्म प्रदर्शनमा आइसकेपछि उनले बाहिरी ब्यानरको फिल्ममा काम गर्ने इच्छा देखाएकी थिइन् । 
 
सुहाना भन्छिन्, 'म भगवान् कृष्णको फ्यान'
 
तर, तेस्रो पटक पनि उनी घरकै फिल्ममा सीमित हुने भएकी छन् । झरना थापाले ‘ए मेरो हजुर’को सिरिजलाई तत्काल रोकेर फिल्म ‘भागवद गीता’ बनाउँदैछिन् । यसमा सुहाना मुख्य भूमिकामा देखिने भएकी छन् । मंगलवार धार्मिकस्थल जनकपुरधाममा फिल्मको अनाउन्समेन्ट टिजरको छायांकन भइरहेको छ । टिजरमार्फत् फिल्मको घोषणासँगै प्रदर्शन मिति सार्वजनिक गरिनेछ ।
 
फिल्मका लागि नायकको पनि टुंगो लागिसकेको छ । तर, टिजरमा सुहाना मात्र प्रस्तुत हुनेछिन् । नायकको नाम केही समयपछि सार्वजनिक गर्ने योजनामा निर्माण टिम छ । पहिला ‘भागवद गीता’मा अभिनेता अनमोल केसीको अभिनय रहने चर्चा थियो । तर, उनले लगातार एउटै प्रोडक्सन हाउसको फिल्ममा काम गर्न इच्छा नदेखाएपछि निर्माण टिमले अर्को नायकलाई भित्राएको हो ।
 
आउँदो साउन दोस्रो हप्ताबाट छायांकन सुरु हुने फिल्मको अनाउन्समेन्ट टिजर भने यसै हप्ता सुहानाको जन्मदिनमा सार्वजनिक गरिनेछ । फिल्मको नाम हिन्दू धर्मको महान् ग्रन्थबाट राखिएकाले टिजरलाई धार्मिक तीर्थस्थल जनकपुरधाममा खिचिएको हो । मंगलवार नै टिजरकोे छायांकन सकिनेछ । ‘ए मेरो हजुर’को सिरिज झैं ‘भागवद गीता’ पनि लभस्टोरी कथामा बन्ने बताइएको छ ।
Most Visited News (monthly)