शुक्रवारबाट प्रदर्शनमा आएको अभिनेता सौगात मल्ल र अभिनेत्री दीया मास्के अभिनीत फिल्म ‘मन्त्र’ले घरेलु बक्सअफिसमा उत्साहजनक व्यापार गर्न सकेको छैन । तथापि, फिल्मले प्रतिक्रिया भने सुन्न लायक नै पाएको छ । विशेषगरी फिल्मको छायांकन, लोकेशन, ब्याकग्राउन्ड स्कोरको प्रशंसा भएको छ । प्रदर्शनअघि गरिएको प्रिमियरमा पनि फिल्मले राम्रो प्रतिक्रिया पाएको थियो ।
यसैक्रममा, खलपात्रको भूमिकामा रुचाइएका तीन कलाकारहरु प्रशान्त ताम्राकार, रोविन तामाङ र शिशिर वाङ्गेदेलले फिल्मको प्रशंसा गरेका छन् । आइतवार फिल्म हेर्न पुगेका उनीहरुले ‘मन्त्र’ले मन्त्र लगाउने बताए । कलाकार तामाङले भने, ‘फिल्म राम्रो छ । सम्पादन, छायांकन, लोकेशन, कलाकारको अभिनयले हलमा बाँधेर राख्छ । मलाई फिल्मले एकदमै इमोसनल बनायो ।’
.jpg)
कलाकार वाङ्गेदेल अन्तर्राष्ट्रियस्तरमा नेपाली फिल्मलाई चिनाउन ‘मन्त्र’ले मद्दत गर्ने विश्वास व्यक्त गरे । ‘सिनेम्याट्रिक रुपमा फिल्म राम्रो बनेको छ । यसलाई म नेपाली माटो सुहाउँदो फिल्म भन्न रुचाउँछु । कलाकारहरुले पनि आफ्नो तर्फबाट गर्न सक्ने प्रयास गरेका छन् । म त फिल्मको दोस्रो पार्टको प्रतिक्षामा छु । सिक्वेल बन्यो भने मलाई पनि काम गर्ने इच्छा जागेको छ,’ उनले भने ।
त्यस्तै, अर्का कलाकार प्रशान्त ताम्राकारले फिल्ममा हिमाली भेगको सुन्दर प्रेमकथा प्रस्तुत गरिएकाले आफूलाई मन परेको बताए । ‘कलाकारको अभिनय बुलन्द छ । सुरुदेखि अन्तिमसम्म फिल्मको कथामा दर्शकले कनेक्ट गर्छन्,’ उनी भन्छन्, ‘फिल्मले नेपालको पर्यटन प्रवद्र्धनमा सघाउने सम्भावना देखेको छु । फिल्मले नेपालको हिमाली भेगलाई सुन्दर तरिकाले देखाएको छ ।’
मनास्लु हिमालको आसपास छायांकन गरिएको यस फिल्मले हिमाली प्रेमकथा वाचन गरेको छ । केटी भगाएर (छोपेर) लैजाने त्यहाँको स्थानीय संस्कृतिलाई फिल्ममा प्रस्तुत गरिएको छ । खिल बहादुर गुरुङको निर्देशनमा तयार भएको फिल्ममा सौगात मल्ल, दीया पुन, बुद्दि तामाङ, नमिता घिसिङ्ग, बिर बहादुर लामा, पासाङ्ग टि शेर्पालगायतका कलाकारको अभिनय रहेको छ ।

