.jpg)
माधवराज खरेल निर्देशित फिल्म ‘चिट्ठी’को सम्पूर्ण छायांकन सकिएको छ । गत वर्ष छायांकन भइरहेको समयमा नायक सञ्जित भण्डारी घाइते भएपछि फिल्मको छायांकन रोकिएको थियो । नायक भण्डारी पूर्ण रुपमा निको भएपछि बैशाख पहिलो साताबाट फिल्मको बाँकी छायांकन सुरु गरिएको थियो । बुधवारबाट फिल्मको सुटिङ प्याकअप भएको निर्देशक खरेलले जानकारी दिए ।
एरा प्रोडक्सन प्रा.लिको ब्यानरमा निर्माण भएको फिल्ममा सञ्जित भण्डारीका साथै खड्ग बहादुर पुनमगर (खवपु), गोपाल ढकाल (छन्दे), नबुजंग थापा, मुस्कान लामा, प्रवन भुषाल, कन्चन चालिसे, शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल पौडेल, मोहन निरौला, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविल सिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, मुना निरौलालगायतको अभिनय छ ।
जीवन पराजुलीको छायांकन रहेको फिल्मलाई काठमाडौं, काभ्रे, ललितपुर लगायतका जिल्लामा खिचिएको हो । निर्देशक खरेलले ‘चिठ्ठी’मा उठाइएको विषयवस्तु दर्शकलाई फरक लाग्ने दाबी गरेका छन् । कमेडी जनरामा निर्माण भएको फिल्ममा सस्पेन्स र थ्रिलर पनि मिश्रण गरिएको उनको भनाई छ । सुटिङ प्याकअप भए लगत्तै फिल्मको पोस्ट प्रोडक्सनको काम सुरु गरिएको छ ।
फिल्ममा सरोज कोइराला, जुगल डंगोल र राजेन्द्र बजगाइँको संगीत, डा. कृष्णहरि बराल, कमला जोशी र शान्तिप्रियको शब्द, शिव परियार, केञ्जुमा सुब्बा, कृष्ण भट्टराई र बसन्त अर्यालको स्वर रहेको छ । निर्देशक खरेलको लेखन रहेको फिल्ममा कमला जोशीको लगानी छ । पोस्ट प्रोडक्सनको सम्पूर्ण काम सकेर २०२२ भित्रै फिल्मलाई हलमा प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ ।

