बैशाख १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मन्त्र’ले प्रिमियरमा सुखद् प्रतिक्रिया बटुलेको छ । बुधवार साँझ राजधानीको बिग मुभिजमा आयोजित प्रिमियरमा उपस्थित फिल्मकर्मीहरुले छायांकन, लोकेशन, ब्याकग्राउन्ड स्कोरको प्रशंसामा शब्द खर्चिए । फिल्मको प्रिमियरमा पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईको पनि उपस्थिति रहेको थियो ।
कलाकार तथा निर्माता दीपकराज गिरीले ‘मन्त्र’को लोकेशनले सबैभन्दा बढी लोभ्याएको प्रतिक्रिया दिए । उनले भने, ‘फिल्म जुन ठाउँमा खिचिएको छ, त्यसले मन लोभ्याउँछ । फिल्ममा हिमाललाई नजिकबाट हेर्न पाइन्छ । ब्याकग्राउन्ड स्कोर फिल्मको अर्को सशक्त पक्ष हो ।’ फरक लभस्टोरीमा बनेको फिल्ममा कमेडी र हिमालका दृश्यहरु बोनसको रुपमा रहेको उनको भनाई छ ।
हाँस्य कलाकार तथा निर्देशक दीपाश्री निरौलाले अब आफूलाई ‘मन्त्र’ जस्तै हिमाली क्षेत्रको कथा चाहिएको बताइन् । उनले फिल्म हेरुन्जेल कथावस्तु र लोकेशनले बाँधेर राख्ने जिकिर गरिन् । उनी भन्छिन्, ‘फिल्मको कथावस्तु, लोकेशन, छायांकन, ब्याकग्राउन्ड स्कोर, कलाकारहरुको काम सबै पक्ष राम्रो छ । मलाई फिल्म एकदमै मन पर्यो । क्लाइमेक्स सिन त झन् छुटाउनै नहुने छ ।’
त्यस्तै, निर्देशक निश्चल बस्नेतले आफूलाई फिल्म रमाइलो लागेको बताए । कुनै भेगको आफ्नै कथालाई फिल्ममा रमाइलो तरिकाले प्रस्तुत गरिएकोमा खुशी व्यक्त गर्दै उनले भने, ‘लोकेशन र ब्याकग्राउन्ड स्कोर फिल्ममा सशक्त छ । पछिल्लो समय नेपालभित्रको विभिन्न भेगको कथाहरु फिल्ममा आइरहेका छन् । यसरी नै फिल्महरु निर्माण हुँदै जानुपर्छ । समग्रमा फिल्म राम्रो बनेको छ ।’

निर्देशक तथा कलाकार नरेश पौड्याल, गायक युवराज चौलागाईँ लगायतले पनि फिल्म अत्यन्त राम्रो बनेको प्रतिक्रिया दिएका थिए । फिल्ममा सौगात मल्ल, दीया पुन, बुद्धि तामाङ, नमिता तामाङ, पासाङ टी शेर्पा र वीरबहादुर लामा लगायतको अभिनय रहेको छ । खिलबहादुर गुरुङको निर्देशनमा बनेको ‘मन्त्र’ले हिमाली प्रेमकथा वाचन गरेको छ । मनास्लु क्षेत्रमा फिल्म खिचिएको हो ।

