.jpg)
आउँदो जेठ ६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लाइफ इन एलए’को ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा त्रिकोणात्मक प्रेमकथा देखाइएको छ । अमेरिकामा अकेशा विष्ट र नेपालमा शिल्पा मास्केसँग झाँगिएको ब्यास बिस्सुको प्रेम र ग्रिनकार्ड पाउन गर्ने संघर्षमा फिल्म आधारित रहेको ट्रेलरबाट बुझ्न सकिन्छ ।
सुर्य एन श्रेष्ठको डेब्यू निर्देशनमा तयार भएको फिल्ममा ब्यास, आकेशा र शिल्पाका अलावा गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाललगायतको पनि अभिनय रहेको छ । अमेरिकामा ७० प्रतिशत र नेपालमा ३० प्रतिशत छायांकन भएको फिल्मलाई ब्यास बिस्सु आफैंले निर्माण गरेका हुन् ।
फिल्मले विभिन्न शिलशिलामा अमेरिका जाने नेपालीको संघर्ष र सफलताको कथा भन्ने ब्यासले जानकारी दिए । फिल्मले उठान गरेको कथाले आम नेपालीको मन छुने उनको विश्वास छ । त्यस्तै, अभिनेत्री मास्केले कथावस्तु, आफ्नो चरित्र र टिम राम्रो लागेर काम गरेको बताउँदै फिल्मको माध्यमबाट अमेरिकामा बस्ने नेपालीको संघर्ष र सफलताको कथा बुझ्ने मौका पाएको बताइन् ।
दीपक वली एसोसियट निर्देशक रहेको फिल्ममा एलिस कार्की र प्रतिक पौडेलको संगीत र प्रताप दास र कविता श्रेष्ठ स्वर छ । ब्यास इन्टरटेनमेन्टले प्रस्तुत गरेको फिल्मको कार्यकारी निर्मातामा संसार अन्जान सुवेदी छन् भने निर्मातामा राजेन्द्र ठकुराथी छन् । भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको संयुक्त सम्पादन रहेको फिल्ममा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी छ ।

