अभिनेता सौगात मल्ल अभिनीत नयाँ फिल्म ‘मन्त्र’ यही बैशाख १६ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्म उनका लागि विभिन्न कारणले विशेष छ । पहिलो, उनी पहिलो पटक विल्कुलै फरक गेटअप र लवजमा प्रस्तुत छन् । दोस्रो, उनका पछिल्ला अधिकांश फिल्म नचलेकाले ‘मन्त्र’प्रति उनको ठूलो आशा र अपेक्षा छ । यसकारण यो फिल्मले उनको करिअरमा विशेष अर्थ राखेको छ ।
‘मन्त्र’ एउटा अर्गानिक फिल्म बनेको र फिल्म उत्कृष्ट बनेकाले दर्शकलाई पनि मन पर्ने उनको विश्वास छ । उनी भन्छन्, ‘फिल्ममा हिमाली भेगको कथा छ । हिमाली प्रेमकथा उठाइएको छ । मैले यसअघि गरेका फिल्मभन्दा ‘मन्त्र’को कथा भिन्न छ । म आफैंलाई पनि फिल्मको कथाले मन छोएको छ । यसमा दर्शकहरुले हिमाली स्वाद पाउनेछन् ।’ फिल्ममा उनी गोठालोको भूमिकामा छन् ।

चिसो मौसम मन पर्ने भएकाले ५१०० मिटरमाथिको उचाइँमा रहेको मनास्लु हिमाल क्षेत्रमा छायांकन गर्न गाह्रो नभएको उनको अनुभव छ । यसअघि उनले फिल्म ‘कागबेनी’ पनि हिमाली भेगमै छायांकन सकाएका थिए । यसअर्थ ‘मन्त्र’का लागि आफ्नो भूमिका विकसित गर्न सहयोग पुगेको उनको भनाई छ । दर्शकलाई आफ्नो गेटअप र लवज नौलो लाग्नेमा पनि उनी विश्वस्त छन् ।
सौगातले छायांकन सुरु हुनुभन्दा केही दिन अगाडि गएर मनास्लु क्षेत्रको रहनसहन बुझ्ने प्रयास गरेका थिए । स्थानियहरुसँग संगत गरेर सिकेका कुराले आफूलाई चरित्रमा डुब्न सघाउ पुर्याएको उनी बताउँछन् । खिलबहादुर गुरुङको निर्देशनमा बनेको फिल्ममा सौगातका अलावा दीया पुन, बुद्धि तामाङ, नमिता घिसिङ्ग, बिर बहादुर लामा, पासाङ्ग टि शेर्पालगायतको अभिनय रहेको छ ।
सुरेश कार्की, रविराज कार्की र सुभ श्रेष्ठ निर्माता रहेको फिल्मको कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुन् । फिल्ममा परिक्षेद सेनको कथा, साम्तेन भुटिया, सुनिल निउरे र सेन स्वयंको पटकथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन र मित्र डि. गुरुङको सम्पादन छ । फिल्मलाई काठमाडौंमा काफिया फिल्मस् र मोफसलमा एफडि कम्पनीले वितरणको जिम्मा लिएको छ ।

