
सुरज पाण्डे निर्देशित फिल्म ‘परस्त्री’को सम्पूर्ण छायांकन सकिएको छ । क्यामेरा ‘अन’ भएको ४० दिनमा फिल्म इन्डल्याप भएको निर्माता तथा लेखक दीपेन्द्र के. खनालले जानकारी दिए । मुस्ताङबाट फिल्मको छायांकन सुरु भएको थियो । त्यहाँ ७/८ दिन खिचेपछि बाँकी छायांकन काठमाडौंमा गरिएको हो । फिल्मलाई आउँदो कात्तिक ६ गते प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ ।
‘पशुपति प्रसाद’, ‘आमा’ जस्तो उम्दा फिल्म बनाएका दीपेन्द्रले फिल्मको कथा लेखेका हुन् । फिल्मको छायांकन अवधिभर उनी सेटमै थिए । तर, आफूले सुरजलाई क्रिएटिभ पार्टमा कुनै दख्खल नदिएको उनी बताउँछन् । उनी भन्छन्, ‘मैले स्क्रिप्ट उसलाई बुझाएपछि सेटमा म क्रिएटिभ पार्टमा छिरिनँ । सुरजले आफ्नै हिसाबले काम गर्यो । यसपटक मैले प्रोडक्सनको पार्ट मात्र हेरेँ ।’
सुरजले यही फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् । दीपेन्द्रले फिल्म ‘लभ लभ लभ’बाट उनलाई नायकको रुपमा डेब्यू गराएका थिए । सुरजको कामबाट आफू सन्तुष्ट रहेको दीपेन्द्रको भनाई छ । उनी भन्छन्, ‘मैले फिटेजहरु हेर्दा गजब लागेको छ । एउटा सिन पनि कम्प्रमाइज नगरी सुरजले फिल्म खिचेको छ । फिटेजहरु हेर्दा मैले जस्तो सोचेको थिएँ त्यो आएको छ भन्ने लागेको छ ।’
डिएस डिजिटलको व्यानरमा निर्माण भएको फिल्मकी निर्मात्री शर्मिला पाण्डे हुन् । सुरज, उनकै छोरा हुन् । फिल्ममा कोशिश क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा लगायतका कलाकारहरु मुख्य भूमिकामा छन् । निरज पाण्डेले फिल्मको खिचेका हुन् । थ्रिलर जनरामा निर्माण भएको फिल्मले एक विवाहित पुरुषको अफेयरको कथा वाचन गर्ने बताइएको छ ।

