हिरोको परम्परागत मानकभित्र अटाउने नाम हो, प्रदीप बाँस्तोला । आकर्षक ज्यान, लोभलाग्दो उचाइँ, चकलेटी लुक्स र राम्रो अभिनय गर्ने क्षमताले उनलाई ‘प्याकेजको हिरो’को कोटीमा उभ्याउँछ । संगीतबाट करिअरको धुव्र रेखा कोरेका उनले फिल्म ‘अर्धकट्टी’बाट नायकको परिचय बनाएका थिए । फिल्मको ‘कोकाकोला फिगर’ गीतले उनलाई दर्शकमाझ चिनाउन मद्दत गर्यो ।

मनभित्र अभिनयको ज्वाला बोकेर हिँडेका प्रदीप आफूलाई भर्सटायल कलाकारको रुपमा स्थापित गर्न चाहन्छन् । त्यसैले पहिलो फिल्ममा नायक बनेका उनले दोस्रो फिल्म ‘शुभ लभ’मा नकारात्मक भूमिकामा अभिनय गरे । ‘कोकाकोला’ गीतबाट नृत्यमा समेत राम्रो सम्भावना देखाएका उनले डान्स रियालिटी शो ‘डान्सिङ्ग विथ दि स्टार्स’मा पनि आफ्नो नृत्य कलाबाट दर्शकलाई लोभ्याए ।
‘डान्सिङ्ग विथ दि स्टार्स’मा टेप ११ सम्मको यात्रा तय गरेका प्रदीप अब नृत्य र अभिनयलाई एकसाथ अगाडि लैजाने योजनामा छ । ‘डान्सिङ्ग विथ दि स्टार्स’बाट धेरै कुरा सिकेको र यसले अभिनयमा अगाडि बढ्न मद्दत गर्ने विश्वास लिएका उनी कलाकार भएपछि हरेक कुराको ज्ञान हुन आवश्यक रहेको तर्क राख्छन् । नृत्यले कलाकारलाई अनुशासनको गुण सिकाउने उनको अनुभव छ ।
उनै, प्रदीपसँग फिल्मी करिअर, अभिनय र नृत्यको विषयमा फिल्मीखबरकर्मी अन्जान दाहाल ‘मनिष’ले विशेष कुराकानी गरेका छन् ।
१. ‘डान्सिङ्ग विथ दि स्टार्स’को यात्रालाई कसरी लिनुहुन्छ ?
‘डान्सिङ्ग विथ दि स्टार्स’मा मेरो सहभागिता एक प्रकारको चुनौती थियो । मनमा उत्साह पनि थियो । यो प्लेटफर्मबाट मैले धेरै कुरा सिक्न पाएको छु । मलाई अभिनयमा निरन्तर अगाडि बढ्नका लागि यसले सहयोग पुर्याउँछ भन्ने लागेको छ ।
२. फिल्म ‘अर्धकट्टी’को ‘फिगर कोकाकोला’ गीतमा तपाईंको नृत्य रुचाइएको थियो । नेपाली फिल्ममा राम्रो नृत्य गर्नसक्ने नायकको रुपमा ब्याख्या गरिएको थियो । त्यही प्रशंसाको बलमा ‘डान्सिङ्ग विथ दि स्टार्स’मा जोडिनुभएको थियो ?
त्यो गीतमा मैले भंयकर नृत्य गरेको छु भन्ने लाग्दैन र म आफूलाई भंयकर डान्सर भन्न पनि रुचाउँदिनँ । बरु, नृत्यभन्दा मैले अभिनयमा बढी साधना गरेको छु । म आफूलाई खासमा ‘नन् डान्सर’ भन्न रुचाउँछु । घरपरिवार, साथीभाईहरुसँग जमघट हुँदा सामान्य नाच्ने चाहिँ गरेको थिएँ । अरुले गर्न सक्छन् भने म पनि किन गर्न सक्दिनँ भन्ने चाहिँ थियो । तर, म प्रोफेसनल डान्सर चाहिँ होइन ।
‘तिम्रो फिगर कोकाकोला’ गीतमा मेरो शतप्रतिशत त पुगेको थिएन होला तर, आफ्नो तर्फबाट राम्रो दिने प्रयास चाहिँ जरुर गरेको थिएँ । यो गीतबाट मिलेको प्रतिक्रियाले नृत्यमा अगाडि बढ्नका लागि प्रेरणा मिलेको पक्कै हो ।
३. ‘डान्सिङ्ग विथ दि स्टार्स’मा प्रतियोगीको रुपमा जोडिएपछि आफूमा के कमजोरी रहेछ भन्ने महशुस भयो ?
धेरै कुराहरु छन् । ‘डान्सिङ्ग विथ दि स्टार्स’मा भाग लिएपछि मैले अनुभव गरेको कुरा के हो भने आफैं रमाएर नृत्य गर्नु र वास्तविकमा के हुनुपर्ने हो त्यसमा आकाश-जमिनको फरक हुने रहेछ । मैले नृत्यलाई नर्सरीबाट सिक्न र बुझ्न पाएँ । गीतको भावअनुसार नाच्नु आफ्नो ठाउँमा छ तर गीतको जनरा अनुसार एंगल मिलाएर कसरी नृत्य गर्ने, त्यो बुझ्न पाएँ ।
नृत्य भनेको साधना नगरी आउँदैन । पढेर बुझ्ने भन्ने कुरा हुँदैन । मैदानमा उत्रिनै पर्छ । तन, मन र शरीरलाई एक्टिभ बनाउनै पर्छ । ‘डान्सिङ्ग विथ दि स्टार्स’बाट मैले आफैंलाई पनि बुझ्ने मौका पाएँ ।
४. ‘डान्सिङ्ग विथ दि स्टार्स’को मञ्चबाट बटुलेको अनुभवले तपाईंको फिल्मी करिअरलाई कस्तो सहयोग पुर्याउँछ भन्ने लाग्छ ?
मैले गुरु मान्ने निर्देशक विकासराज आचार्यले एक भेटमा मलाई ‘तिम्रो सबै थोक राम्रो छ अब नृत्यमा राम्रो गर’ भनेर गुरुमन्त्र दिनुभएको थियो । यसपछि मैले नृत्य सिक्नका लागि विभिन्न प्रयास पनि गरेँ । यही क्रममा ‘डान्सिङ्ग विथ दि स्टार्स’बाट प्रस्ताव आएको थियो । यो मेरो लागि सबैभन्दा खुशीको क्षण थियो ।
कलाकार भएपछि सबै गुण हुनुपर्छ भन्ने लाग्छ । म आफूलाई नृत्यमा कमजोर सम्झन्थेँ । ‘डान्सिङ्ग विथ दि स्टार्स’ले धेरै कुरा सिकाएको छ र सिकेको छु । यो कुराले मलाई फिल्ममा पनि सघाउ पुर्याउँछ भन्ने लागेको छ ।

५. अब तपाईं आफूलाई अभिनेता भन्न रुचाउनु हुन्छ कि डान्सर ?
म अभिनेता नै हो । मैले चारवटा फिल्ममा म्यूजिक डिरेक्टर भएर पनि काम गरेँ । आफैंले गीत गाएको पनि छु । म गायन, अभिनय, नृत्य सबै कलाकारिताको पाटो हो भन्ने ठान्दछु । अभिनय र नृत्य त झन् नंग र मासु जस्तै हो । म त भन्छु अभिनयका लागि डान्स अनिवार्य साधना हो । नृत्यले अभिनयमा पनि निखारता ल्याउँछ । त्यसैले अभिनय र नृत्यलाई मर्ज गरेर अगाडि बढेँ भने नै मेरो लागि फलिफाप हुन्छ ।
६. नृत्यमा आफूलाई कसरी मुल्यांकन गर्नुहुन्छ ?
म आफैंले आफ्नो नृत्यको मुल्यांकन गर्न सक्दिनँ । तर, एउटा कुरा के हो भने म हार मान्ने व्यक्ति होइन । कुनै चीजमा एकपटक लागिपरेपछि फत्ते गरेरै छाड्छु । त्यसैले डान्समा म निपूर्ण हुन्छु र भएरै छाड्छु भन्ने प्रण लिएको छु । ‘डान्सिङ्ग विथ दि स्टार्स’मा जोडिएपछि नृत्यप्रतिको मेरो लगाव र प्रेम झन् बढेको छ । अब अभिनयसँगै नृत्यलाई पनि साथसाथ लैजान्छु ।
७. के लोकप्रियताका लागि ‘डान्सिङ्ग विथ दि स्टार्स’ रोज्नुभएको थियो ?
मेरो बाल्यकालदेखि नै ठूलो भएपछि यही बन्छु भन्ने कुनै योजना थिएन । मात्र असल मान्छे बन्न सकुँ भन्ने थियो । न मैले लोकप्रियता कमाउँछु भनेर फिल्ममा काम गरेको थिएँ न ‘डान्सिङ्ग विथ दि स्टार्स’ लोकप्रियताका लागि गरेको थिएँ । लोकप्रियता भनेको कामको फल हो भन्ने मलाई लाग्छ । त्यसैले म लोकप्रियताको पछाडि चाहिँ लाग्दिनँ । मान्छेमा असल गुण छ भने जुन क्षेत्रमा पनि लोकप्रियता हासिल गर्न सकिन्छ ।
८. नेपाली फिल्ममा चकलेटी हिरोहरुको आगमन बढ्दो छ । तर, नृत्यमा कमैले मात्र आफूलाई प्रमाणित गरेका छन् । हिरो हुन नृत्य आउन अनिवार्य छ ?
नेपालमा प्रायः फर्मुलामा फिल्म बनिरहेको हुन्छ । फर्मुलामा बन्ने फिल्मका लागि कलाकारमा सबै कुरा भएको राम्रो हो । तर, फरक धारका फिल्ममा नृत्य राम्रो गर्न सक्नुपर्छ भन्ने नहुन सक्छ । यद्यपि, नृत्यको ज्ञान राखेको त जुनै पनि कलाकारलाई राम्रो हुन्छ ।
९. ‘डान्सिङ्ग विथ दि स्टार्स’लाई तपाईं आफ्नो करिअरको दोस्रो घुम्ती मान्नु हुन्छ ?
म धेरै घुम्तीहरुमा हिँडे होला । सुरुमा संगीतबाट आएँ । आफैंले शब्द लेखेँ, आफैंले संगीत भरेँ । यो मेरो करिअरको एउटा घुम्ती थियो । ‘कलेज’ सिरियल मेरो अभिनयको अर्को घुम्ती थियो । त्यसपछि फिल्म ‘अर्धकट्टी’मा काम गरेँ, त्यो अर्को घुम्ती थियो । रियालिटी शो आफैंले होस्ट गरेँ, त्यो पनि एउटा घुम्ती थियो । यस्ता अनेक घुम्ती पार गरेको छु । ‘डान्सिङ्ग विथ दि स्टार्स’ पनि मेरो करिअरको एउटा घुम्ती चाहिँ अवश्य हो ।
१०. ‘डान्सिङ्ग विथ दि स्टार्स’ले तपाईंको जीवनमा के माइने राख्छ ?
नृत्य मेरो लागि माइने नराख्ने भन्ने त हुँदैन । मलाई गुरुले गुरुमन्त्र दिएको कुरा हो । ‘डान्सिङ्ग विथ दि स्टार्स’ मेरो लागि नृत्यको साधना गर्ने मञ्च बन्यो । यो साधना गर्न पाउनु मेरो लागि ठूलो उपलब्धि हो ।

