Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

विवाह बन्धनमा बाँधिइन् वर्षा

फिल्मीखबर, काठमाडौं, 2022/04/22
barsha and aashis
 
अभिनेत्री वर्षा सिवाकोटी बैबाहिक जीवनमा बाँधिएकी छन् । उनले शुक्रवार (आज) काठमाडौंको नागार्जुन रानीवनस्थित रेसु भिल्लामा प्रेमी आशिष गेलालसँग विवाह गरेकी हुन् । उनीहरुको विवाह समारोहमा दुई पक्षका सीमित परिवारका सदस्यहरुको मात्र उपस्थिति रहेको थियो । वर्षाले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफू विवाह बन्धनमा बाँधिएको जानकारी गराएकी हुन् । 
 
वर्षा र आशिषले जारी गरेको पोस्टमा भनिएको छ, ‘आज हामी परिवारको उपस्थितिमा एक निजी समारोहबीच आधिकारिक रूपमा विवाह बन्धनमा बाँधिएका छौं र यो कुरा बाँड्न पाउँदा हामी अत्यन्तै हर्षित छौं । जब हामी जीवनको नयाँ अध्यायमा प्रवेश गर्छौं, हामी तपाइँ सबैलाई माया र समर्थनको लागि धन्यवाद दिन चाहन्छौं ।’ वर्षाले बिहेको तस्विर भने सार्वजनिक गरेकी छैनन् ।
 
प्राप्त जानकारी अनुसार, वर्षा र आशिषको विवाह समारोहमा डेढ सय जनाको उपस्थिति रहेको थियो । वर्षाका श्रीमान् पेशाले इन्जिनियर हुन् । उनी लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । उनको नेपाल घर भने बालुवाटार रहेको बुझिएको छ । गत महिना मात्र वर्षा आशिषलाई भेट्नका लागि अमेरिका गएकी थिइन् । त्यहीँ उनीहरुको विवाहको मिति तय भएको थियो ।
 
फिल्म ‘नाईं नभन्नू ल २’बाट अभिनेत्रीको रुपमा सुखद् डेब्यू गरेकी वर्षाले करिअरको छोटो अवधिमा दुई दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छन् । लिड रोलमा अभिनय गरेका प्रायः फिल्म असफल भएपनि उनको करिअरलाई त्यसले खासै असर गरेको छैन । उनको नयाँ फिल्म ‘लक्का जवान’ बैशाख २३ गते प्रदर्शनमा आउँदैछ भने ‘परदेशी २’ आउँदो दशैंमा प्रदर्शन हुँदैछ ।
 

Most Visited News (monthly)