.jpg)
निर्देशक शोभित बस्नेतले नयाँ फिल्म ‘हाम्रो स्वर्ग’को छायांकन सुरु गरेका छन् । शुक्रवार जुम्ला जिल्लाको पटमारा गाउँबाट फिल्मको छायांकन सुरु भएको हो । निर्देशक बस्नेतले फिल्ममा मुख्य भूमिकामा नयाँ अनुहारलाई लिएका छन् । मेनुका माझी, नबदत्त न्यौपाने, सुइन्जा सुनाम, शान्ता दाहाल, लाल बहादुर रोकाया, ललित जङ्ग महतलगायतको फिल्ममा अभिनय रहनेछ ।
ज्ञान कुमार कट्टेल छायाँकार रहेको फिल्मलाई गौतमराज खड्काले सम्पादन गर्नेछन् । निर्देशक बस्नेतले फिल्ममा यार्सागुम्बा टिप्ने मान्छेहरुको कथालाई उठान गरिने जानकारी दिए । फिल्मले एउटा पृथक र वास्तविक कथा भन्ने उनको भनाई छ । कर्णाली क्षेत्रको भाषा तथा भेषभुषा र रहनसहनलाई समेत प्रस्तुत गरिने फिल्मको कर्णाली प्रदेशको १० वटै जिल्लामा छायांकन हुनेछ ।
एनएसके मिडिया नेपालको व्यानरमा निर्माण हुने फिल्ममा शान्ता शर्माको लगानी रहनेछ । फिल्ममा नवदत्त न्यौपानको संगीत र रामकृष्ण बुड्थापाको कथा छ । निर्देशनमा शोभितलाई रामजी राउतले सघाउनेछन् । एक समय एकसेएक सफल फिल्मको निर्देशन गरेका शोभित बस्नेतले ‘हाम्रो स्वर्ग’पछि कलाकार राजेन्द्र खड्गीले बनाउने फिल्म ‘सेभेल भिलेन’को निर्देशन गर्नेछन् ।

