
विभिन्न कारणले अभिनेता सलमान खानको नयाँ फिल्म ‘कभी ईद कभी दिवाली’ चर्चामा छ । पहिला यो फिल्मलाई निर्माता साजिद नाडियाडवालाले निर्माण गर्दै थिए । तर, अब सलमानको प्रोडक्सन हाउसले फिल्मको निर्माण गर्ने भएको छ । ‘हाउसफुल ४’का निर्देशक फरहाद सामजीले निर्देशन गर्ने फिल्ममा सलमानले कलाकार पनि हेरफेर गरेको बलिउड हंगामाले उल्लेख गरेको छ ।
सलमानले फिल्ममा आफ्ना बहिनी ज्वाइँ आयुष शर्मा र कलाकार जहीर इकबाललाई भाईको चरित्रमा फाइनल गरेको जानकारी प्राप्त छ । पहिला यो चरित्र श्रेयस तलपडे र अरशद वारसीले निभाउने लगभग पक्का थियो । त्यस्तै, फिल्ममा सलमानको अपोजिटमा अभिनेत्री पूजा हेगडेले अभिनय गर्दैछिन् । साउथ एक्टर वेंकटेशको पनि फिल्ममा मुख्य भूमिका रहने बताइएको छ ।
हलिउड हंगामाका अनुसार, फिल्ममा आयुष र जहीरको निकै छोटो रोल छ । छोटो रोल भएकै कारण पहिला आयुषले फिल्मबाट हात झिकेका थिए । तर, उनले फेरि काम गर्ने इच्छा देखाएपछि सलमानले आयुषलाई अनुबन्ध गराएका हुन् । यसअघि सलमान र आयुषले फिल्म ‘अन्तिम’मा काम गरेका थिए । ‘कभी ईद कभी दिवाली’लाई ३० डिसेम्बरमा रिलिज गर्ने तयारीमा निर्माण टिम छ ।

