
स्थानीय निर्वाचन नजिकिँएसँगै राजनीति दलहरु वडा, नगरपालिका, महानगर र उपमहानगरमा उम्मेदवारको नाम टुंगो लगाउन जुटेका छन् । विभिन्न राजनीति दलमा आबद्ध कलाकारहरु पनि टिकट पाउनका लागि दौडधुप गरिरहेका छन् । यसैक्रममा, राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं महानगरपालिकाको मेयर पदमा कलाकार मदनदास श्रेष्ठलाई उठाउने तयारी गरेको छ ।
राप्रपाको महानगर समितिको बिहीबार बसेको बैठकले मेयरको उम्मेदवारका लागि कलाकार मदनदास श्रेष्ठको नाम सिफारिस गरेको हो । अब केही दिनमा पार्टीको केन्द्रिय समिति बैठकले कलाकार श्रेष्ठलाई मेयर पदको टिकट दिने वा नदिने भन्ने विषयमा छलफल गर्नेछ । प्राप्त जानकारी अनुसार, राप्रपाबाट कलाकार श्रेष्ठ काठमाडौंको मेयर पदमा उठ्ने लगभग पक्का जस्तै छ ।
कुनै बेला रेडियो नाटकमा आफ्नो बोल्ड आवाजले बेग्लै पहिचान बनाएका मदनदास श्रेष्ठले ‘तीन घुम्ती’, ‘तिमी विना’, ‘बसन्ती’, ‘नायक’, ‘संकल्प’, ‘मन कामना’, ‘परिवार’, ‘कन्यादान’, ‘के घर के डेरा’, ‘तिलहरी’, ‘नैना रेशम’, ‘मस्ती’, लगायतका कयौं फिल्ममा अभिनय पनि गरेका छन् । पछिल्लो समय अभिनयमा खासै सक्रिय नदेखिएका श्रेष्ठ २०७३ सालमा राप्रपा प्रवेश गरेका थिए ।

