Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’मा ‘टुल्की’ उत्कृष्ट

फिल्मीखबर, काठमाडौं, 2022/04/21
पहिलो पटक गोरखा जिल्लाको लाप्राकमा आयोजना भएको तीन दिने ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’मा फिल्म ‘टुल्की’ले उत्कृष्ट फिचर फिल्मको अवार्ड जितेको छ । शेखर लामाको निर्माण तथा देवजंग थापा निर्देशन गरेको यो फिल्मले उत्कृष्ट स्क्रिनप्ले (शेखर लामा) को अवार्ड पनि जित्न सफल भयो । बैशाख ५ गते सोमबारदेखि सुरु भएको महोत्सव बैशाख ७ गते बुधवार सकिएको हो ।
 
rural
 
महोत्सवमा विभिन्न भाषामा बनेका सांस्कृतिक फिल्म, वृत्तचित्र, सर्टमुभी तथा फिचर फिल्म गरी १६ वटा फिल्म प्रदर्शन गरिएको आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले बताए । महोत्सवमा जुरी टिमले छनोट गरेका उत्कृष्ट ९ विधामा समेत अवार्ड बाँडियो । जसमा भाषाभाषी विधामा प्रितम गुरुङ निर्देशित तथा आइतराम गुरुङ निर्मित गुरुङ फिल्म ‘फुङ’ले अवार्ड पायो ।
 
त्यस्तै, डकुमेन्ट्री विधामा भिमलाल श्रेष्ठ निर्देशित ‘मकै विवाह’ले अवार्ड प्राप्त गर्दा सर्टफिल्म विधामा केदार श्रेष्ठ निर्देशित ‘जुनुको जुत्ता’ उत्कृष्ट बन्यो । सर्वोकृष्ट अभिनेताको अवार्ड भने ‘चिसो आत्मा’बाट प्रविन खतिवडा र उत्कृष्ट अभिनेत्रीको अवार्ड ‘मौन प्रतिशोध’बाट शारदा अधिकारीले जितेका छन् । उत्कृष्ट निर्देशकको अवार्ड ‘टिष्टा पारीको साइनो’बाट खिलबहादुर गुरुङले जिते । 
 
महोत्सवमा सिन सुमेश श्रेष्ठ निर्देशित सर्टफिल्म ‘मौन प्रतिशोध’ले जुरी अवार्ड पनि प्राप्त गर्‍यो । महोत्सवका स्थानीय व्यवस्थापक राज गुरुङ, सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटा, अभिनेता गजित विष्ट,अभिनेत्री पनाह अधिकारीलगायतले उत्कृष्टलाई ट्रफी वितरण गरेका थिए । रबिन्द्र खड्का, शिवम् अधिकारी, शिव पुरी, किशोर आचार्य र लक्ष्मण सुवेदी जुरी टिममा थिए । 
 
rural
 
महोत्सवमा स्थानीयसँग ग्रामीण फिल्मबारे अन्तरक्रिया समेत गरिएको थियो । नेपाली मौलिक फिल्म तथा फिल्मकर्मी र स्थानीय पर्यटकीय स्थलको प्रचार-प्रसार तथा प्रवद्र्धन गर्नु, नेपाली आम दर्शकलाई नेपाली मौलिक चलचित्रप्रति आकर्षित गराउनु, ग्रामीण कथामा बनेका फिल्महरूलाई स्वदेशी तथा विदेशी दर्शकमाझ पुर्‍याउने उद्देश्यले महोत्सव गरिएको आयोजकले जनाएको छ ।
Most Visited News (monthly)