Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अर्जुनको ‘गोरे सार्की’मा सौगात मल्ल !

फिल्मीखबर, काठमाडौं, 2022/04/20
arjun kumar and saugat malla
 
नाफा-घाटा जे भएपनि निरन्तर फिल्म निर्माण गर्दै आएका निर्माता हुन्, अर्जुन कुमार । फिल्म ‘चपली हाइट’बाट बोरामा पैसा घर लगेका उनले यो फिल्मको सिरिजबाहेक ‘फिटकिरी’ र ‘फाटेको जुत्ता’को पनि निर्माण गरिसकेका छन् । अब उनी नयाँ फिल्म निर्माणको तयारीमा जुटेका छन् । आफैंले निर्देशन गर्ने भनेर उनले लकडाउनको समयमा फिल्म ‘गोरे सार्की’ घोषणा गरेका थिए ।
 
तर, उनले तत्काल निर्देशन नगर्ने भन्दै निकेश खड्कालाई निर्देशनको जिम्मेवारी सुम्पिएका छन् । निकेश, उनका विश्वासिला निर्देशक हुन् । अर्जुनले निर्माण गरेको दुई फिल्म ‘फाटेको जुत्ता’ र ‘चपली हाइट ३’लाई निकेशले नै निर्देशन गरेका थिए । अब तेस्रो पटक उनीहरुले सहकार्य गर्न लागेका हुन् । अहिले अर्जुन र निकेश स्क्रिप्ट फाइनल गरेर कलाकार छनोटमा जुटेका छन् ।
 
‘गोरे सार्की’का लागि मुख्य भूमिकामा अभिनेता सौगात मल्ल रहने निर्माता अर्जुनले जानकारी दिए । सौगातसँग मौखिम सहमति भएपनि कागजी सम्झौता हुन बाँकी रहेको उनको भनाई छ । यसअघि ‘फाटेको जुत्ता’मा उनीहरुबीच टिमअप भएको थियो । अर्जुन, सौगात मल्ल आफ्नो मनपर्ने अभिनेता रहेको र काम गर्न पनि एकदमै सजिलो भएकाले पुनः सहकार्य गर्न लागेको बताए ।
 
सौगात अहिले फिल्म ‘२ नम्बरी’को छायांकनमा व्यस्त छन् । यसपछि उनले पाइपलाइनमा रहेको एक नयाँ फिल्मका लागि समय दिएका छन् । उनले ‘गोरे सार्की’का लागि जेठपछिको समय उपलब्ध गराउनेमा निर्माता कुमार विश्वस्त छन् । फिल्मका लागि एक जना चलेको अभिनेत्रीसँग पनि कुराकानी भइरहेको अर्जुनले जानकारी दिए । फिल्म थ्रिलर जनरामा निर्माण हुने बताइएको छ । 
Most Visited News (monthly)