Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दीपकको नीति : नीजि अवार्ड नलिने, राष्ट्रिय अवार्ड नछोड्ने

फिल्मीखबर, काठमाडौं, 2022/04/19
भनिन्छ, ‘राजनीतिज्ञ र फिल्मकर्मीको बोलीमा विश्वास गर्नु भनेको आफैं मुर्ख हुनु हो ।’ उनीहरु दिउँसो बोलेको आफ्नै कुरा बेलुका बोलेकै छैन भन्दै दलिल पेश गर्छन् । कलाकार तथा निर्माता दीपकराज गिरीले केही वर्ष अगाडि फिल्मको अवार्ड नलिने भनेर घोषणा गरेका थिए । उनी आफ्नो बोलीमा पक्का पनि देखिए । नीजि कम्पनीको अवार्ड कार्यक्रममा उनी उपस्थित भएका छैनन् । 
 
तर, उनी आफू अवार्ड समारोहमा नपुगे पनि उनले आफ्नो टिमका सदस्यहरुलाई भने पठाउने गरेका छन् । र, आफूले पाउने अवार्ड घर लगेर सजाउँदै आएका छन् । आफूले पाएको अवार्ड घर नै लैजाने हो भने ‘अवार्ड लिन्नँ’ भनेर घोषणा गर्नुको के औचित्य ? अरुले घरमा ल्याइदिँदा अवार्डको महत्त्व बढ्ने अनि आफ्नै अवार्ड लिन जाँदा अवार्डको महत्त्व घट्ने भन्ने त पक्कै हुँदैन होला ।
 
deepakraj giri
 
प्राइभेट अवार्ड समारोहहरु बहिष्कार गर्दै आएका दीपकराज यही आइतवार चलचित्र विकास बोर्डले राष्ट्रपति भवनमा आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा भने उपस्थित भएका थिए । त्यहाँ उनले फिल्म ‘छ माया छपक्कै’बाट उत्कृष्ट नायकको अवार्ड प्राप्त गरे । यसपटक उनले पाएको अवार्ड थाप्नका लागि अरु स्टेज चढेनन्, दीपक स्वयंले राष्ट्रपतिबाट अवार्ड ग्रहण गरे । 
 
अवार्ड लिन नजाने घोषणा गरेका दीपकराजले राष्ट्रपतिको हातबाट अवार्ड थापेपछि भने उनको आलोचना भइरहेको छ । तर, अवार्ड समारोहमा उनले राष्ट्रपतिबाट निम्तो आएकाले अवार्ड लिन उपस्थित भएको भन्दै आफूलाई जोगाउने प्रयास गरेका थिए । जबकि, उनलाई राष्ट्रपतिबाट नभइ बोर्डले बोलाएको थियो । उनले व्यवसायिक अवार्ड र राष्ट्रिय अवार्डमा फरक हुने पनि बताए ।
 
उनले भनेका छन्, ‘आफूलाई जहाँ कम्फर्टेबल हुन्छ त्यहीँ जाने हो । मैले अरु ठाउँबाट पनि अवार्ड पाएको छु तर, आफैं लिन गएको छैन । राष्ट्रपतिबाट अवार्ड लिन आउनु भनेपछि नाइँ भन्न मिल्दैन । मैले अवार्डलाई भेदभाव गरेको होइन ।’ दीपकराजले आफूलाई चोख्याउन जे अभिव्यक्ति दिएपनि उनले ‘नीजि अवार्ड लिन नजाने तर राष्ट्रिय अवार्ड नछाड्ने’ नीति बोकेको देखिन्छ ।
Most Visited News (monthly)