नेपाली फिल्म क्षेत्रको सर्वोच्च संस्था हो, चलचित्र विकास बोर्ड । राज्यले फिल्म क्षेत्रको विकास, विस्तार र प्रवद्र्धन गर्ने जिम्मेवारी बोर्डलाई सुम्पिएको छ । त्यसैले बोर्डप्रति सिंगो चलचित्र क्षेत्रको आशा, अपेक्षा र भरोसा अडिएको छ । तर, चलचित्र विकास बोर्ड चलाउन दुई वर्षको नियुक्ति पत्र बोकेर आउने अध्यक्षबाट फिल्म क्षेत्रले आजका दिनसम्म अपेक्षाकृत नतिजा पाउन सकेको छैन ।
केशव भट्टराईको निधनपछि तत्कालीन नेकपा सरकारमा हुँदा दयाराम दाहाल चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका थिए । उनले बोर्ड अध्यक्षको कुर्सी सम्हाल्दा देश कोरोना संक्रमणको उत्कर्षमा थियो । जसले गर्दा उनको कार्यकाल कोरोनाले बन्द भएका सिनेमा हलहरु खुलाउनका लागि दौडधुप गर्दैमा वित्यो । आउँदो जेठ दोस्रो साता उनको २ वर्षे कार्यकाल सकिँदैछ ।

आफ्नो कार्यकालको उतार्धमा उनले दुई वर्षदेखि रोकिएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट वितरण गरे । प्रायः सधैं विवादमा पर्ने गरेको राष्ट्रिय पुरस्कार यसपटक भने धेरैले चित्त बुझाएका छन् । तर, पुरस्कार वितरण समारोहमा चलचित्र विकास बोर्डले राष्ट्रपतिबाट दुई दर्जन बढीलाई सम्मान बाँडेपछि चौतर्फी आलोचना भइरहेको छ ।
बोर्डले राजेश हमालबाट ‘विशेष योगदान सम्मान’ बाँड्न सुरु गरेको थियो । यसपछि करीब १२/१५ मिनेट चलचित्र र संगीत क्षेत्रका विभिन्न व्यक्तिहरुलाई सम्मान गरियो । राष्ट्रपतिले उभिएरै २० जनाभन्दा बढीलाई सम्मान वितरण गरिन् । सम्मान पाउनेमा कोही चिनिएका अनुहार थिए भने कसैको नाम पुरस्कार समारोहमा उपस्थित अतिथीहरुले पनि सम्भवतः पहिलो पटक सुनेका थिए ।
प्राइभेट कम्पनीहरुले बाँड्ने सम्मानभन्दा पनि सस्तो गरी चलचित्र विकास बोर्डले राष्ट्रपतिको हातबाट ‘विशेष योगदान सम्मान’को नाममा सम्मानको खोलो बगाउँदा कार्यक्रममा उपस्थित चलचित्रकर्मीहरुबीच ‘जाँदा जाँदै दयाराम दाहालले सबैलाई खुसी बनाए’ भन्दै कानेखुसी चलेको थियो । हुन पनि, दाहालले ‘कोही नछुटुन्, कोही नदोहोरिउन्’ भन्ने हिसाबले सम्मान बाँडेको देखिन्थ्यो ।
राष्ट्रपतिबाट सम्मान पाउनु ठूलो उपलब्धि मानिन्छ । बोर्डले नै यो अवसर जुटाइदिँदा सम्मान पाउनेहरुको अनुहार खुशीले पुलकित देखिन्थ्यो । तर, अध्यक्ष दाहालले कामको मुल्यांकनभन्दा पनि आफू नजिकका व्यक्तिहरुलाई खुसी पार्न बर्थ-डेको केक जसरी सम्मान बाँड्दा राष्ट्रिय सम्मानकै वजन घटेको छ । हुनत, कौडीसरी तक्मा बाँडिने देशमा मनपरी सम्मान बाँडिनु नौलो होइन ।

