चलचित्र विकास बोर्डले २०७६/२०७७ को ‘राष्ट्रिय चलचित्र पुरस्कार’ वितरण गरेको छ । आइतवार राष्ट्रपति भवन शितलनिवासमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वर्षको पुरस्कार तथा सम्मान एकसाथ प्रदान गरेकी हुन् । फिल्म ‘छ माया छपक्कै’बाट दीपकराज गिरीले उत्कृष्ट अभिनेता र ‘आमा’बाट सुरक्षा पन्तले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेका छन् ।
.jpg)
‘आमा’ले नै उत्कृष्ट फिल्मको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ जित्न सफल हुँदा यही फिल्मबाट दीपेन्द्र के. खनालले राष्ट्रपति भण्डारीको हातबाट उत्कृष्ट निर्देशकको अवार्ड उचाले । त्यस्तै, छायांकनतर्फ फिल्म ‘छ माया छप्पक्कै’बाट हरि हुमागाईँ, सम्पादनतर्फ फिल्म ‘कबड्डी कबड्डी कबड्डी’बाट निमेष श्रेष्ठ र सुरेन्द्र पौडेल र लेखनतर्फ फिल्म ‘जात्रै जात्रा’बाट प्रदीप भट्टराईले अवार्डमा बाजी मारे ।
.jpg)
कार्यक्रममा आदिवासी जनजातितर्फ फिल्म ‘पचे गोरे’ले अवार्ड जित्न सफल हुँदा जुरी अवार्ड फिल्म ‘जीवन काँडा कि फूल’का लागि अवस्था थापाले प्राप्त गरिन् । त्यस्तै, नव-प्रवेशी कलाकारको रुपमा फिल्म ‘रातो टीका निधारमा’बाट अंकित शर्माले ‘राष्ट्रिय चलचित्र पुरस्कार’ जित्न सफल भएका छन् । अवार्ड जित्न सफल हुने सबैलाई बोर्डले नगद २५ हजार समेत प्रदान गरेको थियो ।

पुरस्कार समारोहमा तीन लाख ५१ हजार एक सय ११ रुपैयाँ राशीसहित २०७६ सालको दीर्घ साधना सम्मान नेपाली फिल्मकी पहिलो अभिनेत्री भुवन थापा चन्द र २०७७ सालको सम्मान संगीतकार तथा गायक शम्भुजित बाँस्कोटालाई प्रदान गरियो । त्यस्तै, राजेश हमालसहित एक दर्जन बढी फिल्मकर्मीलाई बोर्डले राष्ट्रपति भण्डारीको हातबाट विशेष योगदान सम्मान पनि प्रदान गर्यो ।

बोर्डले आफ्नो वार्षिकोत्सवमा प्रदान गर्दै आएको विशेष चलचित्रको पुरस्कार पनि राष्ट्रपतिको हातबाट प्रदान गरेको छ । २०७६ सालको विशेष चलचित्र पुरस्कार ‘आमा’, गुरुङ भाषाको ‘मि न्होर्बै ट’ र ‘नालापानी’ले जित्दा २०७७ सालको विशेष फिल्म ‘सरिता’ बन्न सफल भयो । कार्यक्रममा बोल्ने क्रममा राष्ट्रपति भण्डारीले जनचेतनामुलक फिल्महरू निर्माण गर्न आग्रह गरेकी थिइन् ।

