
बैशाख १ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर ४’ले बक्सअफिसमा आक्रामक कमाई गरेको छ । प्रदर्शनको दिनदेखि सिंगल र मल्टिीप्लेक्समा हाउसफुल व्यापार गरिरहेको फिल्मले तीन दिनमा २ करोड ४३ लाख ग्रस कलेक्सन गरेको निर्माण टिमले एक पोस्टरमार्फत् जनाएको छ । साउथ फिल्म ‘केजीएफ २’को दबादबाबीच पनि फिल्मको यो कमाईलाई बम्पर मान्न सकिन्छ ।
वितरक गोविन्द शाहीका अनुसार, फिल्मले पहिलो दिन देशभर ८८ लाख, दोस्रो दिन ६६ लाख र तेस्रो दिन ८९ लाख कमाएको हो । फिल्मले पहिलो हप्ता ४ करोडको आँकडा छुने अनुमान वितरक शाहीको छ । ‘केजीएफ २’का कारण मल्टीप्लेक्सहरुमा कम शो पाउँदा फिल्मको कमाई धेरै हदसम्म खुम्चिएको छ । सिंगल थिएटरमा भने ‘ए मेरो हजुर ४’ले एकलौटी वर्चश्व जमाएको छ ।
ठूलो विदेशी फिल्मका बावजूद पनि फिल्म हेर्नका लागि हलमा दर्शक ओइरिएपछि निर्देशक झरना थापाले खुशी व्यक्त गरेकी छन् । शनिवार राजधानीका विभिन्न हलहरुमा दर्शकसँग साक्षात्कार गर्ने क्रममा उनले भनिन्, ‘जुन चुनौती लिएर हामी अगाडि बढेका थियौं त्यो सफल भयो । दर्शकको साथ पाएका छौं । त्यसकारण बैशाख १ मा फिल्म लगाएर मैले सही निर्णय गरेँ जस्तो लाग्छ ।’
सुनील कुमार थापा निर्मित फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतम, रेअर राई लगायतको अभिनय रहेको छ । मित्र डि। गुरुङको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको फिल्मको कथा झरना थापा र स्वं. छेतन गुरुङले मिलेर लेखेका हुन् ।

