.jpg)
फिल्म रिलिजको संघारमा हुँदा कलाकारहरुले प्रचारमा साथ नदिने रोग फिल्म क्षेत्रका लागि पुरानै हो । निरन्तर काम पाइरहने मेकरको फिल्म छ भने कलाकारहरु जति नै अप्ठयारो अवस्थामा पनि प्रचारमा दौडिन्छन् । तर, नयाँ मेकरको फिल्मको प्रचारमा हिँड्नका लागि विभिन्न बहाना बनाउँछन् । मेकरको अनुहार हेरेर आफ्नै फिल्मप्रति कलाकारहरुले ठूलो विभेद गर्ने गरेका छन् ।
अभिनेत्री प्रियंका कार्कीले फिल्मको प्रचारमा साथ नदिएको गुनासो अक्सर निर्माता-निर्देशकले गर्ने गरेको सुनिन्छ । गत महिना प्रदर्शनमा आएको फिल्म ‘हेल्लो जिन्दगी’को प्रचारमा नहिँडेको भन्दै निर्देशक एभरेष्ट सूर्य बोहोरा उनीसँग आगो भएका थिए । तर, महजोडी, दीपक-दीपा, विकासराज आचार्य जस्ता मेकरको फिल्म छ भने उनलाई प्रचारमा हिँड्नका लागि आग्रह नै गर्नुपर्दैन ।
प्रियंकाले आफ्नै फिल्मलाई कसरी विभेद गर्छिन् भन्ने कुरा बैशाख २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लक्का जवान’को प्रचारमा खुलेर हिँड्नु पनि देखाउँछ । ‘हेल्लो जिन्दगी’को प्रचार बहिष्कार गरेकी उनले ‘लक्का जवान’को प्रचारमा भने एक महिना अगावैदेखि साथ दिन थालेकी छन् । प्रियंकाले किरण केसी र शिवहरी पौडेलको मुख हेरेर फिल्मको प्रचारमा हिँडेको बताइन्छ ।
प्रियंका यसै साता फिल्मको प्रचार गर्न कमेडी क्लब पुगेकी थिइन् । फिल्मकी अर्की अभिनेत्री वर्षा सिवाकोटी अमेरिका भएकाले निर्माण टिमले उनलाई प्रचारमा अगाडि सारेको हो । तर, मेकर हेरेर आफ्नै फिल्मलाई फरक-फरक व्यवहार गर्नु कलाकारको धर्म होइन । पारिश्रमिक लिएर काम गरेपछि सबै फिल्मलाई समान व्यवहार गर्नुपर्छ । आशा गरौं, प्रियंकाको घैंटोमा घाम लाग्नेछ ।

