यसै बर्ष रिलिजको लक्ष्य राखिएको नेपाली फिल्म 'गणपति'को फर्स्टलुक पोस्टर रिलीज भएको छ । नयाँ बर्षको अवसर पार्दै सार्वजनिक पोस्टरमा अभिनेता मुकुन भुषाल र हिन्दु धर्मावलम्बीहरुले भगवान मान्ने गणेशलाई आधा-आधा बनाएर राखिएको छ ।
भगवान र मानिसबीचको फरक देखाउने बताईएको 'गणपति'मा लेखन तथा निर्देशन सबिन अधिकारीको रहेको छ । अभिनेता मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधानको प्रमूख अभिनय रहेको छ । उनिहरुसँगै सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेल लगायतको अभिनय रहेको छ ।

‘गणपति’ नाम धार्मिक सुनिए पनि फिल्ममा कुनै पनि धर्मको विरोध वा प्रचार नगरिएको निर्देशक अधिकारीले बताएका छन् । फिल्ममा अभिनेता भुषाल टाइटल क्यारेटरमा छन् । ‘गणपति’ मा आफूलाई दर्शकले अहिलेसम्मकै भिन्न भूमिकामा देख्न पाउने भुषालको भनाई छ ।
लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरी निर्माता रहेको फिल्ममा हरिबहादुर घलेको छायांकन रहेको छ । गीतमा अनिस अधिकारीले शब्द तथा संगीत दिएका छन् भने अनिस अधिकारी र देवेन्द्र बब्लुले आवाज दिएका छन् ।
गोविन्द शाहीले वितरण गर्ने फिल्मको ओभरसिज राइट्स स्रित फिल्मस् एण्ड इन्टरटेन्मेन्टले लिएको छ । स्रित फिल्मस् एण्ड इन्टरटेन्मेन्टका श्रीदेव बि.एल.का अनुसार यो फिल्म नेपालभन्दा पहिले यू.के. र अष्ट्रेलियामा रिलीज हुनेछ ।

