
कोरोना महामारी मत्थर भएर जनजीवन सामान्य अवस्थामा फर्किएसँगै छायाकनमा निस्कने फिल्मको संख्या बढ्न थालेको छ । यसैक्रममा, यतिबेला ताप्लेजुङको सिनाममा फिल्म ‘रीत’को छायांकन भइरहेको छ । ताप्लेजुङपछि पाँचथर, इलाम, झापा र काठमाडौंमा फिल्मको छायांकन हुने निर्देशक दिनेश लिङदेनले जानकारी दिए । फिल्मको निर्माण कम्पनी फाल्गुनन्द लिङ्देन फिल्म्स हो ।
यो फिल्ममा लक्ष्मी योङ्हाङ, विमला खजुम, तान्छो हाङ इङ्नाम, यासेली योङ्हाङ, सागर केरुङ, रत्ना लिङ्देन, पुर्न सेलिङ, एन्जिला नेम्बाङ, नन्दु तुम्बापो, भीम थेबे, दिनेश माङ्मु, राजु घिमिरे, तेज मेन्याङ्बो, सोनु लिम्बु, नितु नेम्बाङ, एस्थर खालिङलगायतको अभिनय रहेको छ भने सागर केरुङको कथा, मान तबेबुङ नाजम र अशोक लोहरुङको संगीत र सुमन तामाङको छायांकन छ ।
लिम्बु भाषा संस्कृतिमा आधारित फिल्मको प्रस्तुतकर्ता विष्णु इङ्नाम हुन् । यो टिमले ‘रीत’ र ‘अञ्जली’ गरी दुई फिल्मको एकसाथ निर्माण घोषणा गरेको थियो । हत्याहिंसा र अपहरणमा आधारित ‘अञ्जली’को भने यसअघि नै छायांकन पूरा भइसकेको छ । दिनेश लिङ्देनकै निर्देशनमा तयार भएको फिल्ममा मोडल तथा अभिनेता दिक्पाल कार्कीले केमियो भूमिकामा अभिनय गरेका छन् ।

