
नेपालीमा एउटा उखान छ, ‘ओरालो लागेको मृगलाई बाच्छोले नि खेद्छ ।’ यतिबेला गायक तथा मोडल दुर्गेश थापाको हकमा यो उखान ठ्याक्कै चरितार्थ हुँदै गएको छ । पल शाह प्रकरणमा जोडिएपछि उनी पलका फ्यानको आँखाको तारो बनेका छन् । यही कारण उनले हातमा रहेका प्रोजेक्टहरु समेत गुमाउँदै गएका छन् । केही मेला-महोत्सवहरुले त उनलाई बहिष्कार नै गरेका छन् ।
यसैक्रममा, उनलाई बैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ए मेरो हजुर ४’बाट समेत निकालिएको छ । फिल्मको एक गीतमा उनले र्यापरको भूमिकामा अभिनय गरेका थिए । उक्त गीत केही दिनमा सार्वजनिक गर्ने तयारीमा निर्माण टिम थियो । तर, दुर्गेशलाई प्रस्तुत गरिएको गीत सार्वजनिक गर्दा फिल्मलाई असर पर्ने बुझेपछि निर्माण टिमले उनी देखिएको गीत नै हटाएको छ ।
दुर्गेश फिचर भएको गीतको ठाउँमा निर्माण पक्षले जी-बब नामले चिनिने ‘मिलेन लेभल तेरो’ गीतका गायक सुदीप भण्डारीको स्वर, शब्द तथा संगीतमा तयार भएको गीतलाई राखेको छ । त्यस्तै, गीतको भिडियोमा गायक भण्डारी आफैं फिचर छन् । बुधवार उक्त गीतको काठमाडौंको एक रेस्टुरेन्टमा छायांकन भएको थियो । गीतलाई शुक्रवार सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ ।
लकडाउनमा समयमा निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाले फिल्मको एक गीतमा अभिनय गराउन दुर्गेशसँग कागजी सम्झौता गरेका थिए । त्यसबेला दुर्गेशले जुन गीत छोयो त्यही हिट हुन्थे । तर, पल प्रकरणमा जोडिएपछि उनको करिअर नै डामाडोल भएको छ । फिल्मबाट आफूलाई हटाएको कुरा सार्वजनिक नगर्न दुर्गेशले निर्मातासँग विन्ती गरेको समेत बताइन्छ ।

