Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अशोक शर्माको बोलीले चलचित्र संघमा तरंग

फिल्मीखबर, काठमाडौं, 2022/04/07
फिल्म वितरक र हल व्यवसायीहरुको संस्था नेपाल चलचित्र संघले कोरोना महामारीका कारण थलिएको नेपाली फिल्म क्षेत्रलाई चलायमान बनाउन २०७९ सालको बैशाख १ गतेसम्मका लागि फिल्मको सेयर बाँडफाँड सम्बन्धि नयाँ नियम लागू गरेको थियो । निर्मातालाई राहत दिने उद्देश्यले प्रदर्शनको पहिलो हप्ता ५५ प्रतिशत र दोस्रो हप्ता ५० प्रतिशत सेयर दिने निर्णय संघको थियो ।
 
त्यसअघि निर्माताले पहिलो हप्ता ५० प्रतिशत र दोस्रो हप्ता ४५ प्रतिशत सेयर पाउँदै आएका थिए । अब कोरोनाकालका लागि संघले लागू गरेको नयाँ नियमको अवधि बैशाख १ गते सकिँदैछ । यसैक्रममा, दुई दिन अगाडि संघका महासचिव अशोक शर्माले बैशाखदेखि लागू हुने गरी फिल्मको सेयर बाँडफाँड सम्बन्धि संघले नयाँ निर्णय गरेको सञ्चारमाध्यमलाई जानकारी दिएका थिए ।
 
madhusudan pradhan
 
महासचिव शर्माले नेपाली निर्मातालाई फाइदा मिल्ने गरी बैशाखदेखि पहिलो र दोस्रो हप्ता निर्माता र वितरकलाई ५०/५० प्रतिशत शेयर बाँडफाँड गर्ने नयाँ निर्णय संघले गरेको बताएका थिए । तर, बुधवार (हिजो) संघले अशोक शर्माको अभिव्यक्तिलाई खण्डन गर्दै सञ्चारमाध्यममा आएको फिल्म प्रदर्शनको शेयर बाँडफाँड सम्बन्धि समाचारप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ । 
 
नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल चलचित्र संघको चलचित्र प्रदर्शन व्यवसायिक समितिको मौखिक सहमतिमा २०७९ साल बैशाख १ गतेसम्म प्रदर्शन हुने चलचित्रहरुको शेयर बाँडफाँड सम्बन्धमा निर्णय भएको र त्यसपछि शेयर बाँडफाँड सम्बन्धमा चलचित्र संघले हालसम्म कुनै पनि निर्णय नगरेको जानकारी गराउँदछु ।’ 
 
अशोक शर्माले सञ्चारमाध्यमलाई संघले सेयर बाँडफाँडको सम्बन्धमा नयाँ निर्णय गरेको बताएपछि संघभित्र तरंग मच्चिएको थियो । यस विषयमा काठमाडौंका केही ठूला मल्टीप्लेक्स व्यवसायीहरुले आपत्ति जनाएपछि अध्यक्ष प्रधानले विज्ञप्ति जारी गरेको बताइएको छ । हल व्यवसायीहरुले कोरोना महामारीभन्दा अगाडिकै नियम लागू गर्न संघलाई दबाब दिएको जानकारी प्राप्त छ । 
Most Visited News (monthly)