.jpg)
अभिनेता सौगात मल्लले करिअरको छोटो अवधिमै राम्रो फड्को मारेका छन् । फिल्म ‘लुट’मा निर्वाह गरेको ‘कालु काले’को चरित्रपछि उनको करिअरले रफ्तार लिन सुरु गरेको थियो । फिल्म ‘कबड्डी २’ले उनलाई सफलताको थप उचाइँमा पुर्यायो । विगत केही वर्षयता सर्वाधिक व्यस्त रहेका उनी एउटा फिल्मको छायांकन नसकिँदै नयाँ फिल्ममा अनुबन्ध भइसकेका हुन्छन् ।
कोभिडयता मात्र उनले आधा दर्जन फिल्मको छायांकन भ्याइसकेका छन् । पाइपलाइनमा पनि फिल्मको ताँती छ । चरित्रको गहिराइमा डुबेर अभिनय गर्ने भएकाले उनी प्रायः निर्देशकको रोजाईमा पर्ने गरेका छन् । तर, उनका पछिल्ला फिल्म हेर्ने हो भने सौगातको अभिनयमा विविधता देखिँदैन । त्यसैले पैसाको लोभमा उनले फिल्मको संख्या बढाइरहेको आरोप लाग्दै आएको छ ।
सौगात आफूले धेरै फिल्ममा काम गरेको भएपनि कहिले साथीभाईको आग्रह नकार्न नसकेर त कहिले फिल्मको कथा मन परेर काम गर्ने गरेको बताउँछन् । उनी भन्छन्, ‘स्क्रिप्ट मन पर्यो भने काम गर्न मन लागिहाल्छ । साथीभाईहरुले गाह्रो भयो भनेपछि पनि काम गर्नैपर्यो । हामी सबै स्ट्रगलकै चरणमा भएकाले एकअर्कालाई सहयोग गर्नैपर्छ । सबै मिले मात्र अगाडि बढ्न सकिन्छ ।’
कहिले काहिँ डेढ/दुई महिना फिल्ममा काम नगर्ने योजना बनाए पनि साथी-भाईका कारण विश्राम लिन नसकेको सौगात गुनासो गर्छन् । तर, यो वर्ष अभिनय गरेका फिल्महरु फरक-फरक रहेको उनको दाबी छ । उनकोे नयाँ फिल्म ‘मन्त्र’ बैशाख १६ गतेबाट प्रदर्शनमा आउँदैछ भने केही दिनमा उनी फिल्म ‘दुई नम्बरी’को छायांंकनमा व्यस्त हुँदैछन् । यसपछि उनले फिल्म ‘सिटामोल’मा काम गर्नेछन् ।

