
हाँस्य कलाकार शिवहरी पौडेलले पहिलो पटक निर्देशन गरेको फिल्म ‘लक्का जवान’को ट्रेलर सार्वजनिक भएको छ । सोमवार सार्वजनिक भएको ट्रेलरमा कमेडीलाई विशेष प्राथमिकता दिइएको छ । फिल्मले अधवैंसे पुस्ता र तन्नेरी पुस्ताबीचको कथालाई उठाएको ट्रेलरबाट बुझ्न सकिन्छ । ३ मिनेट २२ सेकेन्ड लम्बाईको ट्रेलरमा निर्देशक पौडेलले रोना-धोनालाई पनि समेटेका छन् ।
बैशाख २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा मदनकृष्ण श्रेष्ठ, किरण केसी, सरोज खनाल, सुशील पोखरेल, शिवहरी पौडेल, दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, सुरेन्द्र केसी, जयनन्द लामा, अन्सुया श्रेष्ठ, अन्जु महर्जन, नरेन्द्र कंशाकार, देशभक्त खनाल लगायतको अभिनय छ । फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक पौडेल स्वयंको हो ।
अन्सुया श्रेष्ठ निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा किरण केसी, शिवहरी पौडेल र दीलिप रायमाझी छन् । त्यस्तै, सह-निर्मातामा सुशील अर्याल, डेजी अर्याल, राजाराम पौडेल, राज केसी, सुरेन्द्र केसी र दीपेन्द्र खनियाँ रहेका छन् । पुरुषोत्तम प्रधानले खिचेको फिल्मलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् । फिल्मका गीतहरुमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।
‘लक्का जवान’ यसअघि २०७६ सालको चैत २१ गते प्रदर्शनमा आउने तयारीमा थियो । प्रदर्शनलाई मध्यनजर गर्दै निर्माण टिमले दुईवटा गीत समेत सार्वजनिक गरेको थियो । तर, कोरोना महामारी फैलिएपछि फिल्म प्रदर्शनमा आउन सकेन । फिल्म निर्देशनमा शिवहरी पौडेलको पहिलो अनुभव भएपनि उनले एक समयको चर्चित सिरियल ‘जिरे खुर्सानी’ र ‘ब्रेकफेल’को निर्देशन गरेका थिए ।

