
दीपकराज गिरी र दीपाश्री निरौलाको समुहबाट बाहिरिएपछि हास्य कलाकार जितु नेपालले नयाँ फिल्म साइन गरेका छन् । फिल्म ‘ड्रिम्स’ का निर्माता कपिल रिजालले निर्देशन गर्न लागेको फिल्ममा उनी मुख्य भूमिकामा अनुबन्धित भएका हुन् । नाम गोप्य राखिएको फिल्ममा उनको जोडी अभिनेत्री साम्राज्ञी आरएल शाहसँग बाँधिनेछ । साम्राज्ञीले यसै हप्ता फिल्म साइन गरेकी हुन् ।
आउँदो भदौ १५ गतेबाट छायांकन सुरु हुने फिल्म कमेडी र लभस्टोरी जनरामा निर्माण हुने बताइएको छ । काठमाडौं र पोखराको माथिल्लो भेगमा छायांकन हुने फिल्ममा कलाकार विजय बरालको पनि मुख्य भूमिका रहनेछ । फिल्ममा उनले जितुको साथीको भूमिका निर्वाह गर्नेछन् । लामो समयदेखि लन्डनमा बस्दै आएका कपिलले यही फिल्मबाट निर्देशनमा डेब्यू गर्न लागेका हुन् ।
उनले लन्डनमा नै केही सर्ट फिल्मको निर्माण तथा निर्देशन गरेका छन् । करीब एक दर्जन म्यूजिक भिडियोको समेत निर्देशन गरिसकेका उनी पेशाले दन्त चिकित्सक हुन् । फिल्म निर्माता तथा स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालका छोरा रहेका कपिल नेपाल आएपछि फिल्मको घोषणा गरेर छायांकनमा निस्कने तयारीमा छन् । पर्दामा जितु र साम्राज्ञीको जोडी हेर्न रोचक हुने देखिन्छ ।
निषेधाज्ञाभन्दा अगाडि फिल्म ‘तिम्रो मेरो साथ’ को छायांकन सकेकी साम्राज्ञीले लकडाउनअघि निर्देशक द्वय मिलन चाम्स र प्रवेश पौडेलको फिल्म साइन गरेकी थिइन् । उनको पाइपलाइनमा निर्देशक हेमराज विसीको फिल्म पनि छ । तर, उनले यी फिल्मभन्दा अगाडि कपिल रिजालको फिल्ममा काम गर्ने भएकी छन् । यो फिल्मका लागि उनले माटो पारिश्रमिक बुझेको जानकारी प्राप्त छ ।

