
तमिलको ब्लकबस्टर फिल्म ‘सुरराई पोट्टरु’ को हिन्दी रिमेक यतिबेला चर्चामा छ । सुपरस्टार सूर्या अभिनीत यो फिल्म दर्शकले निकै रुचाएका छन् । अब यसको हिन्दी रिमेक बनाउने तयारी गरिएको छ । फिल्मको रिमेक घोषणा भएसँगै सबैभन्दा पहिला अभिनेता शाहिद कपूरलाई अप्रोच गरिएको थियो । तर, अब यो फिल्ममा अक्षय कुमारले अभिनय गर्ने सम्भावना बढेर गएको छ ।
फिल्मको हिन्दी रिमेक शाहिद हुँदै अक्षय कुमारसम्म कसरी पुग्यो ? यसको प्रमुख कारण शाहिदले मोटो पारिश्रमिक डिमान्ड गर्नु रहेको बताइएको छ । सूर्या र गुनीत मोंगाले यो फिल्मको हिन्दी रिमेक निर्माण गर्दैछन्, जसका लागि शाहिदलाई सबैभन्दा पहिला प्रस्ताव गरिएको थियो । तर, उनले महंगो पारिश्रमिक डिमान्ड गरे । उनले भारु ३५ करोड पारिश्रमिक माग गरेको बताइएको छ ।
शाहिदले ठूलो पारिश्रमिक डिमान्ड गरेपछि निर्माताले अक्षय कुमारलाई फिल्म अफर गरेका हुन् । उनी फिल्ममा काम गर्नका लागि सकारात्मक देखिएका छन् । तर, तत्काल उनीसँग डेट्स नभएकाले फिल्मको छायांकनमा ढिलाइ हुने देखिन्छ । ‘कबीर सिंह’ को सफलतापछि शाहिदले आफ्नो पारिश्रमिक दोब्बर बढाएका छन् । यसअघि उनले १५/२० करोडमा फिल्ममा काम गर्थे ।

