
यसै वर्ष ओटीटी प्लेटफर्ममा रिलिज भएको हरर-कमेडी फिल्म ‘रूही अफ्जा’ पछि फेरि एकपटक अभिनेता राजकुमार राव र अभिनेत्री जान्हवी कपूर नयाँ फिल्ममा स्क्रिन शेयर गर्दै देखिने भएका छन् । यो अनटाइटल फिल्मलाई शरण शर्माले निर्देशन गर्नेछन् । उनले यसअघि फिल्म ‘गुन्जन सक्सेना’ को निर्देशन गरेका थिए । यस वर्षको अन्तिमबाट फिल्मको सुटिङ सुरु हुनेछ ।
फिल्ममा जान्हवी र राजकुमार दुवैले क्रिकेटरको भूमिका निर्वाह गर्नेछन् । यसका लागि उनीहरुले चाँडै क्रिकेटको ट्रेनिङ लिँदैछन् । जान्हवी कपूर यस वर्षको अगस्तबाट फिल्म ‘हेलन’ को छायांकन सुरु गर्ने तयारीमा छिन् । यसपछि उनले अनटाइटल प्रोजेक्टको छायांकनका लागि समय छुट्याउनेछिन् । उनी दोस्रो पटक निर्देशक शर्मासँग फिल्ममा काम गर्न निकै उत्साहित छिन् ।
त्यस्तै, राजकुमार राव यतिबेला नेटफ्लिक्सको फिल्म ‘मोनिका : ओ माइ डार्लिङ’ को छायांकनमा व्यस्त छन् । योसँगै उनको पाइपलाइनमा ‘हम दो हमारे दो, बधाई हो’ को सिक्वेल र एक तेलुगू फिल्म ‘हिट’ को रिमेकमा पनि छ । यसरी हेर्दा यो वर्ष उनलाई फिल्मको सेड्युल मिलाउन हम्मे-हम्म्मे पर्ने देखिन्छ । राजकुमार र जान्हवीलाई पुनः पर्दामा हेर्न दर्शक उत्सुक देखिएका छन् ।

