Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रोडक्सन हाउस छ भन्दैमा आफैं हिरो र निर्देशक हुन्नँ : भुवन केसी

फिल्मीखबर, काठमाण्डौ, 2021/08/03
 
अभिनेता भुवन केसीले आफ्नो प्रोडक्सन हाउस ‘द सुपर काजल फिल्मस्’ बाट थुप्रै सुपरहिट फिल्म निर्माण गरिसकेका छन् । ठूलो क्यानभासमा खर्चिलो फिल्म बनाउने मेकरको सूचीमा उनको नाम सबभन्दा अगाडि आउँछ । केही वर्षयता छोरा अनमोललाई लिएर फिल्म बनाइरहेका उनले ‘ड्रिम्स’ बाट निर्देशनमा समेत डेब्यू गरे । तर, त्यसयता उनले अरु फिल्म निर्देशन गरेका छैनन् ।
 
उनी संख्या बढाउनका लागि फिल्म निर्देशन नगर्ने बताउँछन् । शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा फिल्म निर्देशनमा कमब्याकको विषयमा उनले भने- ‘म संख्या बढाउनका लागि फिल्म निर्देशन गर्दिनँ । मैले सयवटा फिल्ममा अभिनय गरेर निर्देशन गर्न अलि-अलि सिकेको छु, अलि-अलि जानेको छु । तर, म एक्सपोर्ट चाहिँ होइन । म फेरि फिल्म निर्देशन त गर्छु तर थोरै गर्छु ।’ 
 
उनले आफ्नो प्रोडक्सन हाउस छ भन्दैमा हिरो र निर्देशक आफैं नबन्ने पनि बताए । नयाँ-नयाँ प्रतिभावान निर्देशक, कलाकारलाई अवसर दिएर अगाडि बढ्ने आफ्नो चाहना रहेको उनको भनाई छ । उनले फिल्म इन्डस्ट्रीलाई अगाडि बढाउन अब नेपाली फिल्म ओटीटी प्लेटफर्ममा जानु पर्ने पनि बताएका छन् । तर, फिल्म इन्डस्ट्रीको मुख्य जग भनेकै सिनेमा हल रहेको उनको कथन छ । 
 
‘सिनेमा हलपछि मात्रै दोस्रो प्राथमिकतामा ओटीटी प्लेटफर्म आउँछ । तर, कोभिडले गर्दा अहिलेको अवस्थामा नेपाली फिल्म ओटीटीमा जान जरुरी देखिएको छ । चाँडै हामी सबै मिलेर फिल्म इन्डस्ट्रीलाई चलायमान बनाउनु पर्छ,’ उनले अगाडि भने, ‘मैले पनि दुइटा फिल्मको स्क्रिप्ट लक गरेर राखेको छ । स्थिति सामान्य भएपछि फिल्म इन्डस्ट्रीलाई ‘मुभ अन’ गर्न छायांकन थाल्नेछु ।’ 
Most Visited News (monthly)