
‘छक्का पञ्जा’ सिरिजको ऐतिहासिक सफलतापछि दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले नेपाली फिल्म इन्डस्ट्रीमा आफ्नो प्रभुत्व जमाएको छ । यो टिमसँग सहकार्य गरेर फिल्म बनाउन अहिले जो कोही निर्माता तयार छन् । फिल्म निर्माणमा अभिनेता भुवन केसीको ब्यानर ‘सुपर काजल फिल्मस्’ पनि सफल मानिन्छ । गत वर्ष यी दुई समुह फिल्ममा टिमअप गर्ने तयारीमा थिए ।
दीपकराज गिरी र अनमोल केसीलाई एकसाथ लिएर फिल्म बनाउन दुवै टिम केही चरण छलफलमा बसेका थिए । तर, कोरोना महामारी सुरु भएसँगै फिल्मको काम अगाडि बढ्न सकेन । त्यसैक्रममा दीपाश्रीको टिमसँँग भुवन केसीको सम्बन्ध विग्रिएको चर्चा चलेको थियो । तर, शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा दुवैले सम्बन्ध विग्रिएको चर्चामा सत्यता नभएको बताए ।
दीपाश्री भन्छिन्, ‘भुवन दाईसँग सम्बन्ध न कहिले विग्रिएको थियो न भोलीका दिनमा नै विग्रन्छ । भुवन दाई र हामी टिमअप गरेर एउटा फिल्म बनाउने तयारीमा थियौं । तर, कोरोना र लकडाउनले रोकियो । माहोल राम्रो भयो भने हामी फिल्ममा टिमअप गर्छौं ।’ भुवन केसीले पनि दीपाश्रीसँँग कहिल्यै सम्बन्ध नविग्रिएको दाबी गरे । उनले दीपाश्रीको प्रशंसामा पनि शब्द खर्चिएका छन् ।
‘दीपाश्रीले जसरी संघर्ष गरेर कलाकार र निर्देशकको रुपमा आफूलाई स्थापित गरेकी छन्, फिल्म क्षेत्रले उनलाई सलुट गर्नुपर्छ । यस्तो महान व्यक्तिसँँग म्यूजिक भिडियोमा भए पनि काम गर्न पाएँ एकदमै खुसी छु,’ उनले भने । दीपाश्रीको टिमसँग फिल्ममा टिमअपको तयारी भइरहेको पनि उनले बताए । स्थिति सामान्य भएपछि टिमअपका लागि पुनः छलफल गरिने उनको भनाई छ ।

