नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) को चौथौं संस्करण यसपटक भर्चुअलको माध्यमबाट सम्पन्न भयो । गत बैशाख २३ देखि २७ गतेसम्म चलेको फेस्टिभलमा बलिउड निर्देशक अनुराग कश्यपले मास्टर क्लास दिएका थिए भने नेपालसहित विभिन्न देशका फिल्म अनलाइनबाट प्रदर्शन गरिएको थियो । भर्चुअलबाटै अवार्ड घोषणा गरिए पनि पुरस्कार वितरण हुन सकेको थिएन ।
.jpg)
कोरोना संक्रमण केही सामान्य भएपछि नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आइतवार राजधानीमा एक कार्यक्रमका बीच विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । पाँच अन्तर्राष्ट्रिय अवार्डमध्ये एक अवार्ड आज विजेतालाई प्रदान गरियो भने बाँकी ६ वटा अवार्ड कुरियरमार्फत् पठाइएको आयोजकले जनाएको छ । उक्त कार्यक्रममा सात राष्ट्रिय अवार्ड पनि वितरण गरियो ।
‘निफ’ मा स्वदेशी फिचर फिल्मतर्फ उत्कृष्ट घोषित भएको ‘आमा खान्डो’ ले एक लाख नगद राशीको पुरस्कार जितेको छ भने यही फिल्मबाट डान्डुप छिरिङले उत्कृष्ट निर्देशकको अवार्ड उचाले । त्यस्तै, फिल्म ‘लाटकोसेरो’ बाट उत्कृष्ट नायक-नायिका घोषित भएका नविन शिल्पकार र सरिता गिरीले कार्यक्रममा अवार्ड थापे । यो फिल्मले उत्कृष्ट छायाँकारको अवार्ड पनि जितेको छ ।
फिचर फिल्मतर्फ उत्कृष्ट पटकथाको अवार्ड ‘सरिता टेल मि हु आइ एम’ बाट सर्जियो बासोलाई प्रदान गरियो भने प्यानडेमिक डकुमेन्ट्रतर्फ उत्कृष्ट घोषित भएर ‘सिभिल सोल्जर्स’ ले जितेको ५० हजार राशीको अवार्ड फिल्मका निर्देशक गणेश पाण्डेले उचाले । अर्को ५० हजार राशीको राष्ट्रिय सर्ट फिल्मको अवार्ड भने राजेश प्रसाद खत्री निर्देशित ‘अ स्केयरक्रो’ लाई प्रदान गरिएको छ ।
.jpg)
उक्त कार्यक्रममा आयोजक संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले पाँचौं संस्करणको आवेदन खुल्ला गरेको पनि घोषणा गरेको छ । असार १७ गतेसम्म आवेदन खुल्ला हुने प्रतिष्ठानका अध्यक्ष केपी पाठकले बताए । उनका अनुसार, आउँदो २०७८ चैत १० गतेदेखि १४ गतेसम्म हुने निफको पाँचौं संस्करणमा नेपाली प्रतिस्पर्धामा ५० हजार राशीको वृत्तचित्र पनि थप गरिएको छ ।

