(1)(2)(1).jpg)
अभिनेता भूवन केसीले आफ्नो करिअरमा कयौं सुपरहिट र सम्झनलायक फिल्म दिएका छन् । सम्भवतः नेपाली फिल्ममा उनी जति सफल फिल्म दिने नायक छैनन् । लभर ब्वाईको भूमिकामा सर्वाधिक रुचाइएका उनले गायकको रुपमा आफ्नो करिअर सुरु गरेका थिए । नेपाली म्यूजिक भिडियोका पहिलो मोडल समेत रहेका उनले फिल्म ‘जुनी’ बाट नायकको रुपमा डेब्यू गरेका हुन् ।
उनको परिचयको दायरा नायक र गायकको रुपमा मात्र सीमित छैन । करिअरको उत्कर्षमा रहँँदा उनले ‘करोडपति, नेपाली बाबू’ लगायतका फिल्म निर्माण गरे भने अभिनयबाट निस्क्रिय हुन थालेपछि फिल्म ‘ड्रिम्स’ बाट निर्देशनमा हात हाले । नेपाली फिल्मको मेकिङमा परिवर्तन ल्याउन उनको ठूलो भूमिका मानिन्छ । तर, कुनै बेला फिल्म बनाउन घर बैंकमा राखेको उनी स्मरण गर्छन् ।
शनिवार आफू अभिनीत एक गीतको सार्वजनिक कार्यक्रममा उनले भने- ‘मैले आफ्नो करिअरमा सेलेक्टेड फिल्ममा मात्र काम गरेँ । मैले चाहेको भए ५ सयभन्दा बढी फिल्म गर्न सक्थेँ । तर, मैले कहिल्यै फिल्म छनोटमा हेलचेक्राइ गरिनँ । अझ राम्रो फिल्म बनाउन घर बैंकमा राखेर आफैं फिल्म निर्माणमा होमिएँ । नेपाली फिल्म अझ राम्रो क्वालिटीमा जोओस् भन्ने मेरो उद्देश्य थियो ।’
उनी अगाडि भन्छन्, ‘त्यसबेला नेपाली फिल्मलाई हिन्दी फिल्मले डोमिनेट गर्थ्यो । म चाहन्थेँ कि नेपाली फिल्मले हिन्दी फिल्मसँँग प्रतिस्पर्धा गरोस् । त्यसका लागि मैले निर्मातालाई यस्तो फिल्म बनाउनुस् भनेर भन्न सक्दिनँ थिएँ । त्यसैले म आफैंले घर बैंकमा धितो राखेर ‘करोडपति, नेपाली बाबु’ लगायतका फिल्म निर्माण गरेँ । फिल्म मेकिङमा लागेपछि अभिनय गर्न कम हुँदै गयो ।’

