फिल्म निर्माता तथा गोपीकृष्ण हलका मालिक उद्धव पौडेलले चलचित्र विकास कम्पनीको सेयर बेच्न लागेको जानकारी प्राप्त भएको छ । राष्ट्रिय सञ्चार नीति, ०४९ अनुसार सरकारले चलचित्र विकास संस्थानलाई नीजिकरण गर्ने व्यवस्था गरेपछि ०५० सालमा कम्पनीको बहुमत सेयरमध्ये ५१ प्रतिशत सेयर उद्धव पौडेलले ६ करोड ४६ लाख ६२ हजार रुपैयाँमा खरिद गरेका थिए ।
अब उनले आफूले खरिद गरेको चलचित्र विकास कम्पनीको ५१ प्रतिशत सेयर बेच्न लागेको विश्वस्त स्रोतले बताएको छ । सेयरको विषयमा केही चरण दीपकराज गिरीको टिमसँग छलफल भएको जानकारी प्राप्त छ । तर, सेयर किन्ने विषयमा दीपकराजको टिमले कुनै निर्णय गरिसकेको छैन । तथापी, यो टिम उद्धव पौडेलको ५१ प्रतिशत सेयर किन्न सकारात्मक रहेको बुझिएको छ ।
.jpg)
फिल्म क्षेत्रको विकास गर्न २०४८ सालमा शाही नेपाली चलचित्र संस्थान स्थापना भएको थियो । राजतन्त्र ढलेपछि यो संस्थानको नाम चलचित्र विकास संस्थान र नीजिकरणपछि चलचित्र विकास कम्पनी बन्यो । नीजिकरणपछि कम्पनीको बहुमत सेयर उद्धव पौडेल किने । बाँकी २४ प्रतिशत सेयर फिल्मकर्मी, २० प्रतिशत सर्वसाधारण र ५ प्रतिशत संस्थानकै कर्मचारीलाई दिइएको थियो ।
शाही नेपाली चलचित्र संस्थान स्थापनाको समयमा सरकारले संस्थानका लागि २७ रोपनी जग्गा उपलब्ध गराएको थियो । तर, अहिले ६.७५ रोपनीमा खुम्चिएको छ । हराएको २० रोपनीभन्दा बढी जग्गा व्यक्तिको नाममा रहेको भन्दै लामो समयदेखि विवाद चर्किएको छ । हराएको जग्गा खोज्न चलचित्र विकास बोर्डले छानबिन पनि सुरु गरेको थियो । तर, केही उपलब्धि हासिल भएन ।
गत महिना आन्तरिक राजस्व कार्यालय बालाजुले चलचित्र विकास कम्पनीसँग कर विवरण मागेपछि कम्पनीका सञ्चालक उद्धव पौडेल सम्पर्कविहीन भएको खबर सार्वजनिक भएको थियो । विभागले कम्पनीसँग ०७३/०७४ को करको हिसाब-किताब मागेको थियो । तर, कार्यालयले पटक-पटक सम्पर्क गर्न खोज्दा पनि सञ्चालक पौडेल सम्पर्कमा नआएको विभागले जनाएको थियो ।
चलचित्र विकास संस्थान निजीकरणमा परेको पहिलो सरकारी संस्थान हो । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत चलचित्र विकास कम्पनी अहिले सेयर कारोबारमा छैन । प्रतिकित्ता १०० रुपैयाँ मूल्यको सो कम्पनीको सेयर कारोबार बन्द भएको अन्तिम समयमा ३४ रुपैयाँ ३५ पैसामा कारोबार भएको थियो । शाही नेपाली चलचित्र संस्थानको पहिलो अध्यक्ष निर्देशक यादव खरेल हुन् ।

