.jpg)
निर्देशक नवल नेपालले आफ्नो करिअरमा प्रायः पारिवारिक प्रेमकथामाथि फिल्म बनाएका छन् । चाहे त्यो फिल्म ‘श्रीमान्’ होस् वा ‘मंगलम’ । उनका फिल्मले नारी संवेदनालाई नजिकबाट केलाउने प्रयास गरेको हुन्छ । तर, उनलाई आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्कन नखोजेको आरोप लाग्ने गरेको छ । यो यथार्थ पनि हो, उनले फरक जनराका फिल्म गर्ने चुनौती मोलेका छैनन् ।
लकडाउनपछि ‘दिल चुप छ’ नामक वेब सिरिजको निर्देशन गरेका उनले यसमा पनि पारिवारिक विषयवस्तुलाई नै उठाएका छन् । परिवार र समाजभित्रका साना-मसिना घटनालाई पर्दामा उतार्दा दर्शकको मन नजिक पुग्न सकिन्छ भन्ने उनको अनुभव र बुझाई छ । फिल्म र सिरिज बनाउँदा त्यो कुन दर्शक वा कुन तप्काको नजरमा पर्छ भनेर निर्देशकले गहन अध्ययन गर्नुपर्ने उनी बताउँछन् ।
निर्देशक नेपाल भन्छन्, ‘कोरोना महामारीपछि विश्वव्यापी रुपमा विभिन्न फिल्म तथा सिरिजहरु आइरहेका छन् । त्यसका स्वाद लिइरहेका मानिसभन्दा पनि आम मानिसलाई सम्बोधन गरोस् र आम मानिसको नजरमा जाओस् भन्ने लोभ हामीमा हुन्छ । हाम्रो समाज वा परिवारभित्र हुने मसिना घटनाक्रमलाई उठाउँदा आम मानिसको मन नजिक पुग्न सकिन्छ कि भन्ने लोभ हुने रहेछ ।’
अब आफूले बनाउने फिल्म परिवारभन्दा विल्कुलै भिन्न हुने उनले दाबी गरे । फिल्म बनाउने वातावरण बनेपछि कोरोना महामारीले तयार भएको मानिसको मनोविज्ञानलाई सम्बोधन हुने गरी फिल्म बनाउने उनले बताए । उनी भन्छन्, ‘म आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्कन कोशिश गरिरहेको छु र निस्कनु पनि पर्छ । किनकि, मलाई जे मन पर्छ अरुलाई पनि त्यही मनपर्छ भन्ने छैन ।’

