.jpg)
एक समय अभिनेत्री करिश्मा मानन्धरलाई फिल्ममा काम गर्न भ्याइनभ्याइ हुन्थ्यो । एउटै सेड्युलमा दुई/तीनवटासम्म फिल्मको छायांकन गर्थिन् । उनले लिड अभिनेत्रीको रुपमा सयभन्दा बढी फिल्ममा काम गरेकी छन् । तर, उमेर ढल्किँँदै गएपछि अचेल उनलाई मुख्य नायिकाको अफर आउन छाडेको छ । यही कारण उनी अभिनयबाट टाढा हुँदै गएको कतिपयको टिप्पणी छ ।
अचेल उनको म्यूजिक भिडियोमा व्यस्तता बढेको छ । विशेषगरी, कोरोना महामारीपछि उनले लगातार म्यूजिक भिडियोमा काम गरिरहेकी छन् । बिहीवार उनी अभिनीत नयाँ गीत ‘माछीलाई खोलीको लेउ’ गीत सार्वजनिक भयो, जसमा उनको जोडी कलाकार हरिवंश आचार्यसँग बाँधिएको छ । गीतको म्यूजिक भिडियोमा अभिनेता पल शाह र अभिनेत्री केकी अधिकारी पनि फिचर छन् ।
कोरोना महामारीपछि म्यूजिक भिडियोलाई प्राथमिकता दिनुको कारणबारे करिश्मा भन्छिन्, ‘म फिल्मको सुपरस्टार हुँ, मैले फिल्ममा मात्र काम गर्नुपर्छ वा मलाई दर्शकले सिनेमा हलमा मात्र हेर्नुपर्छ भनेर बस्ने अवस्था छैन अब । कोरोना महामारीले हामी सबैलाई एकै ठाउँमा समेटेको छ ।’ फिल्मका कलाकारले म्यूजिक भिडियोमा अभिनय गर्नु नराम्रो नभएको उनको कथन छ ।
जसरी वा जुन माध्यमबाट भए पनि कलाकार दर्शकसम्म पुग्नु पर्ने उनी बताउँछन् । ‘अहिले नेटफ्लिक्समा कति राम्रो-राम्रो फिल्म आउँछन् । ठूला-ठूला कलाकारले काम गरेका हुन्छन् । अनि, हामी चाहिँ किन नगर्ने त ?’ उनी अगाडि भन्छिन्, ‘जसरी हुन्छ दर्शकसम्म पुग्नु पर्छ । हरिवंश दाईहरुले त म्यूजिक भिडियो गरिरहनु भएको छ भने म्यूजिक भिडियोमा काम गर्नु राम्रो कुरा हो ।’
पछिल्लो समय म्यूजिक विनाका फिल्म पनि निर्माण हुन थालेको बताउँदै उनले मानिसको जीवनमा गीत एउटा महत्त्वपूर्ण हिस्सा बनेको र यसबाट कोेही पर बस्न नसक्ने बताइन् । उनी भन्छिन्, ‘यूट्युबमा म्यूजिक भिडियोले करोडौं भ्यूज पाएका छन् । यसको मतलब मानिसहरुले म्यूजिक भिडियो मन पराएका छन् । यो बेला फिल्म चाहिँ ठूलो, म्यूजिक भिडियो सानो भन्ने अवस्था छैन ।’

