त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपालको पहिलो फिल्म सम्बन्धि अध्ययन गराउने ओस्कार इन्टरनेशनल कलेजबाट फिल्म निर्देशक समेत रहेका विनोद पौडेलले राजीनामा दिएका छन् । उनले प्रिन्सिपल तथा सीईओ पदबाट राजीनामा दिएका हुन् । १० वर्ष अगाडि शिक्षकको रुपमा कलेज छिरेका उनले नयाँ सोचसहितको पुस्ता आउनुपर्छ भनेर आफूले बाटो खुल्ला गरेको बताए ।
उनी भन्छन्, ‘कलेजलाई एउटा स्थानमा पुर्याउन आवश्यक थियो । नेपालमा फिल्म कलेज चल्न सक्दैन भनेर त्रिवीले ओस्कार कलेजको सम्बन्धन नै खारेज गर्ने अवस्था आएको थियो । आफूले एमविए र फिल्म मेकिङ पढेकाले कलेजलाई चलाउन सकिन्छ भनेर मैले म्यानेजमेन्ट टिमसँग ६ महिनाको समय मागेको थिएँ र आज कलेजलाई एउटा लेभलमा पुर्याउन सकेँ जस्तो लाग्छ ।’

आर्थिक समस्याले लण्डनमा फिल्म मेकिङ पढ्न नसकेपछि उनले नेपालमै कम पैसामा फिल्म कलेज स्थापित गर्ने ठूलो सपना बोकेका थिए । उनको यही सपनाले ओस्कार कलेज आज फिल्म पढ्न चाहनेको पहिलो रोजाइ बनेको छ । फिल्मप्रति समाजको सकारात्मक दृष्टिकोण विकास गर्न ओस्कार कलेज हाँक्ने जिम्मेवारी उठाएका उनी आफू केही हदसम्म सफल भएको ठान्छन् ।
उनी भन्छन्, ‘म ओस्कार कलेजमा आउँदा विद्यार्थीहरु परिवारसँग ढाटेर पढ्न आउँथे । त्यो देख्दा नराम्रो लाग्थ्यो । तर, अहिले परिवार आफैं कलेजमा आफ्नो बच्चालाई भर्ना गर्न आउनुहुन्छ । यो भनेको समाजका लागि ठूलो फड्को हो । पहिला मैले फिल्म पढिरहेको छु भन्दा धेरैले विश्वास गर्दैन थिए । यो पनि पढ्ने विषय होर भन्थे । तर, अहिले फिल्म सम्मानित विषय बनेको छ ।’
१० वर्ष ओस्कार कलेजमा प्रिन्सिपल तथा सीईओको रुपमा विताएका विनोद अब फिल्म मेकिङमा केन्द्रित हुने सोचमा छन् । फिल्म ‘बुलबुल’ बाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा वाहवाही बटुलेका उनी अहिले भुटानी शरणार्थी र सहरमा अवसरको खोजीमा रहने युवाको कथामा फिल्म निर्माण गर्ने तयारीमा छन् । कोरोना महामारी सामान्य भएपछि फिल्मको छायांकन गर्ने उनले बताए ।

