कोरोना महामारीका कारण नेपालका सिनेमा हल झन्डै दुई वर्षदेखि सुनसान छ । गत वर्ष लकडाउनपछि केही समय सिनेमा हल खुले पनि दर्शकको उत्साहजनक उपस्थिति हुन सकेन । कोरोनाको दोस्रो महामारी फैलिएसँगै फेरि हलहरु बन्द भएका छन् । हलमै गएर फिल्म हेर्ने बानी भएका दर्शक अहिले घरमै बसेर डिटिजल प्लेटफर्ममा विश्वका फिल्म हेरेर मनोरञ्जन लिइरहेका छन् ।
नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्नीं हटस्टार, यूट्युब लगायतका प्लेटफर्ममा संसारका एकसेएक उत्कृष्ट फिल्म रोजी-छाडी हेरेका दर्शकले अब नेपाली फिल्मलाई पनि त्यही दृष्टिकोणले हेर्ने भएकाले नेपाली फिल्मकर्मीले फरक स्वाद फकस्न कडा मिहिनेत गर्नुपर्ने कलाकार प्रविण खतिवडा बताउँछन् । एउटा राम्रो फिल्मका लागि सोच्न दुई वर्षको समय पर्याप्त रहेको उनको भनाई छ ।
अब फिल्मकर्मीलाई गल्ती गर्ने छुट नभएको उनी बताउँछन् । सोमवार आफू अभिनीत तथा निर्देशित म्यूजिक भिडियो ‘फर्कन छोरा’ बोलको गीतको विषयमा जानकारी दिन राजधानीमा आयोजित पत्रकार भेटघाटमा उनले भने- ‘एउटा फिल्मका लागि सोच्न दुई वर्षको समय पर्याप्त हो । स्क्रिप्ट लगायतका पाटोमा गहिरिएर काम गर्न पाएनौं भन्न अब छुट छैन । हामी अपग्रेड हुनैपर्छ ।’
कोरोनाकालमा विश्वका फिल्म हेरेर बाठा भएका दर्शकका लागि अब बाठै फिल्म बनाउनु पर्ने उनको कथन छ । स्थिति सामान्य भएपछि पुरानो ढर्रामा फिल्म बन्न रोकिने पनि उनले बताए । फिल्म रिलिजका लागि अब सिनेमा हल मात्र विकल्प नरहेकाले वैकल्पिक बाटोबारे सोच्न फिल्मकर्मीलाई उनको सुझाव छ । उनी नेपालमा ओटीटी प्लेटफर्मको विकास हुन जरुरी देख्छन् ।
दुईवटा म्यूजिक भिडियोको निर्देशन गरिसकेका प्रविणले आफू फिल्म निर्देशनको तयारीमा समेत रहेको खुलासा गरेका छन् । अहिलेसम्म फिल्ममा गरेका कामबाट सन्तुष्ट हुन नसकेकाले आफ्नो निर्देशनप्रति मोह बढेको उनको भनाई छ । आफूले कल्पना गरेको कथालाई पर्दामा उतार्न आफू जति अरुले न्याय गर्न नसक्ने भएकाले पनि फिल्म निर्देशन गर्ने इच्छा रहेको उनले बताए ।

