.jpg)
निर्देशक नवल नेपाल नारी संवेदनामाथि फिल्म बनाउन नामी मानिन्छन् । ‘श्रीमान, मंगलम, मारुनी’ फिल्ममा उनको निर्देशकिय क्षमताको निकै प्रशंसा भएको थियो । गत वर्ष उनी एक नयाँ फिल्म निर्देशन गर्ने तयारीमा थिए । तर, कोरोना महामारीका कारण उनले फिल्म सुरु गर्ने आँट गरेका छैनन् । बरु, गत वर्षको लकडाउनपछि उनले ‘दिल चुप छ’ नामक सिरिजको निर्देशन गरे ।
शनिवारबाट उक्त सिरिज प्रशारणमा आएको छ । बि.एम.एच.डि टेलिभिजनमा हरेक शनिवार साँझ साढे ७ बजे प्रशारण भएपछि यो सिरिज बुढासुब्बाको युट्युब च्यानलमा सार्वजनिक हुनेछ । बैबाहिक जीवनका आरोह अवरोह र त्यहाँबाट उत्पन्न परिस्थिती र पारिवारिक विचलनलाई सिरिजमा उतारिएको छ । मदन कश्यप घिमिरेले छायांकन रहेको सिरिजका लेखक दिनेश न्यौपाने हुन् ।
निर्देशक नेपाल सिरिजलाई फिल्मको लुक्स दिन खोजेको बताउँछन् । कोरोना भाइरसका कारण सिनेमा हल बन्द भएर फिल्म हेर्न नपाएका दर्शकलाई सिरिजले फिल्म हेरेको भान गराउने उनको विश्वास छ । उनी भन्छन्, ‘फिल्म खिच्ने गरेको क्यामेराले नै सिरिज खिचेका हौं । फिल्मको फ्लेवर आओस् भनेर हामीले स्क्रिन प्ले र कलाकारहरुको उपस्थितिलाई त्यही अनुरुप प्रस्तुत गरेका छौं ।’
सिरिजमा काम गर्न असाध्धै गाह्रो हुने उनको अनुभव छ । पहिला धेरै सिरियलमा सहायक निर्देशकको रुपमा काम गरेको भए पनि आफूलाई फिल्ममा नै काम गर्न सजिलो लाग्ने उनी बताउँछन् । सिरिजमा स-साना कुरालाई पनि प्रस्तुत गर्न सकिने र पहिलो पार्टमा केही गल्ती-कमजोरी भए दोस्रो पार्टमा त्यसलाई सच्च्चाउन पाइने पक्ष सिरिजको सबैभन्दा राम्रो रहेको उनको भनाई छ ।
नवराज गिरी र सरस्वती गिरीको संयुक्त निर्माण रहेको सिरिजमा सरोज खनाल, सुर्यमाला खनाल, यशराज गराच, रिश्ता बस्नेत, निर्मल न्यौपाने, महेश खड्का, मेनका अर्याल, विशाल पहाडी, विपना बस्नेत, लक्ष्मण सिंह बस्न्यात, केदार दवाडी, नरेश पौड्याल, रुक्मिला अधिकारी, स्मारिका खनाल, प्रकाश श्रेष्ठ, बाल कलाकार प्रीन्सी खड्का, प्रतिक गिरी, शिक्षा संग्रोलाको अभिनय छ ।
‘दिल चुप छ’ को पहिलो श्रृंखला हेर्नुहोस् :-

