.jpg)
फिल्म निदेशक दीवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाईंले धनगढीमा श्री कलेक्सन प्रिमियम बुटिकको उद्घाटन गरेका छन् । शनिवार यो जोडीले संयुक्त रुपमा रिबन काटेर बुटिकको उद्घाटन गरेको हो । आफ्नो जन्मिएको ठाउँमा ठूलो लगानीमा बुटिक खुलेको दीपिकाले खुसी व्यक्त गरिन् । अचेल बुटिकका डिजाइनेबल कपडाहरु सबैको रोजाइमा पर्न थालेको उनले बताइन् ।
त्यस्तै, निर्देशक भट्टराईले नेपालमा बुटिक व्यवसायको सम्भावना राम्रो रहेको बताउँदै स्वदेशमै केही गर्न चाहनेलाई साथ, सहयोग र हौसला दिनुपर्ने बताए । उक्त बुटिक कविता सिवाकोटीले सञ्चालनमा ल्याएकी हुन् । ७० लाख लगानीमा बुटिक सञ्चालनमा ल्याएको उनले जानकारी दिइन् । बुटिकमा साडी, ब्लाउज, लेहेंगा, गाउन लगायतका पहिरन सुपथ मुल्यमा पाइने उनले बताइन् ।
निषेधाज्ञाभन्दा अगाडि दीवाकर र दीपिका फिल्म ‘तिमीसँगै हुने मन छ’ निर्माणको तयारीमा थिए । तर, कोरोनाको दोस्रो लहर फैलिएसँगै फिल्मको छायांकन अनिश्चितकालका लागि रोकियो । अब फिल्म क्षेत्र पुरानो अवस्थामा फर्किन समय लाग्ने भएपछि उनीहरुले वैकल्पिक पेशाको रुपमा एक वित्तिय सहकारी संस्था खोलेका छन् । यो जोडी बेकरी क्याफे पनि खोल्ने तयारीमा छ ।

