
बलिउडका चकलेटी अभिनेता कार्तिक आर्यनले नयाँ फिल्म ‘क्याप्टेन इन्डिया’ मा पाइलटको भूमिका निर्वाह गर्ने भएका छन् । शुक्रवार निर्माण टिमले फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गरेको छ, जसमा कार्तिकलाई पाइलटको पोषाकमा देख्न सकिन्छ । हंसल मेहताको निर्देशनमा बन्न लागेको फिल्मले युद्धको समयमा भारतलाई बचाउन सफल एक मिशनको कथा वाचन गर्नेछ ।
फिल्मको बारेमा कार्तिक भन्छन्, ‘फिल्म समान रुपबाट प्रेरणादायक र रोमान्चकारी हुनेछ । हाम्रो देशको ऐतिहासिक अध्यायको हिस्सा बन्न पाएकोमा गर्व र सम्मान महशुस गरिरहेको छु । हंसल सरको कामप्रति मेरो मनदेखि निकै सम्मान छ र उहाँसँग साथ सहयोग गर्ने यो सही मौका हो ।’ त्यस्तै, निर्देशक मेहताले फिल्म वास्तविक घटनामा आधारित भएर निर्माण हुने बताएका छन् ।
उनी कार्तिकसँँग काम गर्नका लागि निकै उत्साहित छन् । रोनी स्क्रूवाला र हरमन बावेजा निर्माता र विक्की बाहरी सह-निर्माता रहेको फिल्मको छायांकन अर्को वर्षको सुरुवातबाट हुने बताइएको छ । करण जोहरको ‘दोस्ताना २’ र शाहरुख खानको ‘फ्रेडी’ बाट निकालिएपछि कार्तिकको करिअर खतरामा परेको टिप्पणी भएको थियो । तर, उनीप्रति निर्माताको विश्वास अझै घटेको छैन ।

