.jpg)
बाल्यकालदेखि नै अभिनयमा सक्रिय रहेका सलोन बस्नेत निषेधाज्ञाभन्दा अगाडि अभिनेता आमेष भण्डारीसँग मिलेर फिल्म ‘रुम नम्बर १०८’ बनाउने तयारीमा थिए । तर, कोरोनाको दोस्रो महामारी फैलिएसँँगै फिल्मको काम रोकियो । अब उक्त फिल्म निर्माण हुन्छ वा हुँदैन, अनिश्चित छ । कोरोनाले फिल्म निर्माण रोकिए पनि सलोनले निर्माता बन्ने आफ्नो सपना भने पूरा गरेका छन् ।
उनले आफ्नो लगानीमा वेब सिरिज ‘हेल्लो ब्रो’ निर्माण गरेका हुन्, जुन बिहीवारबाट प्रशारणमा आएको छ । सिरिजका लेखक तथा निर्देशक सुरेश न्यौपाने हुन् । फिल्म ‘रुम नम्बर १०८’ को निर्देशन पनि उनैले गर्दैछन् । वेब सिरिजमा प्रभात पल ठकुरी, सुमिन गुरुङ, एलिस्टा सुवेदी, सृष्टि तिमल्सिना, मनीषा ओझा, ओजस्वी थापा, सन्तोष गिरी, इभा गिरी लगायतको अभिनय रहेको छ ।
प्रत्येक हप्ताको बिहीवार साँझ ७ बजे बि.एम.एच.डि टेलिभिजनमा प्रशारण भएपछि बुढासुब्बा डिजिटलको यूट्युब च्यानलमा सिरिज सार्वजनिक हुनेछ । ‘हेल्लो ब्रो’ को पहिलो एपिसोड बुढा सुब्बाको यूट्युब च्यानलमा सार्वजनिक भइसकेको छ । सलोनले सिरिजको कथावस्तु बलियो भएकाले लगानी गरेको बताए । यो सिरिजले दर्शकलाई फिल्मको न्यास्रो मेटाउने उनको विश्वास छ ।
सिरिजमा केदार भुषाल र सुमन गुरुङ गजमेरको लेखन, प्रशान्त सिवाकोटीको संगीत, शंकर भुजेल र ज्ञानकुमार कट्टेलको छायांकन, बन्दे प्रसादको सम्पादन, समीर मियाँको भीएफएक्स, शिशिर खातीको कोरियोग्राफी, आकाश बुढाथोकी सहायक निर्देशन र केमोदिन मियाँको सहायक सम्पादन छ । सिरिजको पहिलो श्रृंखलालाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ ।
सिरिजको पहिलो एपिसोड हेर्नुहोस् :-

