Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पल र पुष्प भन्छन्, ‘हामीबीच दाजु-भाईको सम्बन्ध छ’

फिल्मीखबर, काठमाडौं, 2021/07/22
 
फिल्म क्षेत्रमा कलाकारबीच सुमधुर सम्बन्ध स्थापित भएको कमै देख्न पाइन्छ । फिल्ममा कहिल्यै एकसाथ काम नगरेको भएता पनि व्यवसायिक प्रतिस्पर्धाका कारण उनीहरुको एकअर्कासँग राम्रो सम्बन्ध बन्न सकेको हुँदैन । कतिपय अवस्थामा मिडियामा आउने प्रतिस्पर्धाका समाचारले पनि कलाकारबीच फाटो ल्याउँछ । तर, केही कलाकारहरु भने एकअर्कासँग उल्कै मिल्छन् ।
 
अभिनेता द्वय पल शाह र पुष्प खड्का यसका उदाहरण हुन् । उनीहरु दुवैको सुरुवात म्यूजिक भिडियोबाट भएको हो भने फिल्ममा प्रवेश पनि लगभग एकै समयमा भएको थियो । त्यसैले उनीहरुलाई एकअर्काको कडा प्रतिस्पर्धी भन्ने गरिएको छ । पलले छाडेको एक फिल्ममा पुष्पले काम गरेपछि त झन् उनीहरुबीच घोषित रुपमै प्रतिस्पर्धाको विजारोपण भएको चर्चा चलेको थियो ।
 
तर, पल र पुष्प आफूहरु करिअरको सुरुवातदेखि नै मिल्ने साथी रहेको बताउँछन् । मंगलवार ‘कमेडी च्याम्पियन’ को दोस्रो सिजनमा अतिथीको रुपमा पुगेका उनीहरुले आफूहरुबीच दाजु-भाईको सम्बन्ध रहेको बताए । सञ्चारकर्मीसँगको कुराकानीमा पलले भने- ‘भेटको पहिलो दिनदेखि नै हामी एकदमै मिल्ने साथी हौं । एकअर्कालाई गाह्रो-साह्रो पर्दा साथ दिने र लिने गर्छौं ।’ 
 
पुष्प पनि पलसँँगको सम्बन्ध विशेष रहेको बताउँँछन् । उनी भन्छन्, ‘हाम्रो यात्रा एकअर्कासँँग जोडिएको छ । किनभने, म्यूजिक भिडियोबाटै हाम्रो करिअरको सुरुवात भएको हो । यसकारण पनि हामीबीच दाजु-भाईको जस्तो सम्बन्ध छ । हाम्रो धेरै भेट नभए पनि कहिले काहिँ भेट हुँँदा धेरै कुरा शेयर हुन्छ । पलसँग हुँदा पोजेटिभ भाइभ्स आउँछ । हामीबीच फेमिली रिलेसन पनि छ ।’ 
 
पुष्पले हालै ७० लाखमा हुन्डाइको क्रेटा गाडी किनेका छन् । ‘कमेडी च्याम्पियन’ को सेटमा जाँदा पल पनि पुष्पकै नयाँ गाडीमा चढेर पुगेका थिए । पुष्पले गाडी किन्दा आफूलाई खुसी लागेको पल बताउँछन् । ‘गाडी किनेको समाचार पढे लगत्तै मैले पुष्पलाई फोन गरेर बधाई दिएको थिएँ । उसले गाडी किन्दा म आफैंले किनेको जस्तो महशुस भयो । उसको अझै प्रगति होस्,’ उनले भने ।
Most Visited News (monthly)