
पाकिस्तानी अभिनेत्री सोमी अली कुनै समय अभिनेता सलमान खानकी गर्लफ्रेन्ड थिइन् । सलमानले उनका लागि अभिनेत्री संगीता बिजलानीलाई धोका दिएका थिए । तर, यो सम्बन्ध लामो समय टिकेन । सलमानसँग ब्रेकअप भएपछि सोमीले अभिनयसँगै भारत पनि छाडेकी थिइन् । अहिले उनी एक एनजीओ चलाएर बसेकी छन्, जसले घरेलू हिंसा र बाल शोषण पीडितको मद्दत गर्ने गर्छ ।
हालै सोमीले एक अन्तर्वार्तामा विगत ५ वर्षदेखि आफू सलमानसँग सम्पर्क नभएको बताएकी छन् । सलमानबाट टाढा बस्नु आफ्नो मानसिक स्वास्थ्यका लागि राम्रो रहेको बताउँदै उनले भनेकी छन्, ‘सलमानबाट टाढा बस्नु मेरो मानसिक स्वास्थ्यका लागि पनि ठिक हो । मलाई छाडेदेखि उनका कतिवटा गर्लफ्रेन्ड भए थाहा छैन । तर, उनले चलाउने बीइंड ह्यूमन फाउन्डेशनप्रति गर्व छ ।’
सोमी अलीले सलमानसँग फिल्म ‘बुलन्द’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् । तर, यो फिल्म छायांकनकै क्रममा सधैंका लागि रोकियो । फिल्मको छायांकन काठमाडौंमा भएको समयमा निर्मातासँग आफ्नो केही असमझदारीका कारण फिल्मको निर्माण पूरा हुन नसकेको उनले बताएका छिन् । उनले अभिनय गरेको अन्तिम फिल्म ‘चुप्प’ हो, जुन सन् १९९७ मा प्रदर्शन भएको थियो ।
सोमी अलीको जन्म पाकिस्तानको कराचीमा भएको हो । उनकी आमा इराकी र पिता पास्कितानी हुन् । १२ वर्षको उमेरसम्म कराचीको कन्वेन्ट स्कूलमा पढेपछि उनी आमासँग अमेरिकाको फ्लोरिडा गएकी थिइन् । उनी १६ वर्षको उमेरमा मुम्बई आएकी थिइन् । त्यसबेला सलमान उनका क्रश थिए । उनी सलमानसँग बिहे गर्न चाहन्थिन् । उनीहरु करीब ८ वर्ष प्रेममा समेत थिए ।

