Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

७० लाखको गाडी किनेपछि पुष्प भन्छन्, ‘सम्पत्ति जोड्नु मेरो सपना होइन’

फिल्मीखबर, काठमाडौं, 2021/07/19
कुनै बेला नेपाली फिल्ममा भविष्य खोज्नु मुर्खता मानिन्थ्यो । फिल्ममा काम गरेर पेट पाल्न पनि सकिन्न भन्ने गरिन्थ्यो । तर, आज समय बदलिएको छ । फिल्ममा काम गरेरै कलाकारहरुले नामसँगै मनग्य दाम कमाइरहेका छन् । कतिले फिल्मकै कमाईले घरबारी जोडेका छन् भने कति महंगो गाडी हुइकिने गरेका छन् । फिल्ममा चलेका कलाकारको अहिले जीवनशैली फेरिएको छ ।
 
अभिनेता पुष्प खड्काकै कुरा गरौंन । फिल्मको हिरो बन्न कैलालीबाट काठमाडौं आएका उनले फिल्मसम्मको बाटो तय गर्न निकै संघर्ष गर्नुपर्‍यो । लामो समय म्यूजिक भिडियोमा काम गरेपछि उनले फिल्म ‘अझै पनि’ मा सहायक अभिनेताको रुपमा काम गर्ने अवसर पाए । लिड हिरोको रुपमा भने उनले फिल्म ‘दर्पण छायाँ २’ बाट ब्रेक पाए । तर, दुर्भाग्य ! दुवै फिल्म असफल भयो ।
 
 
तर, फिल्म ‘मंगलम’ ले उनको करिअर बदल्यो । अहिले उनलाई फिल्मको कमी छैन । पारिश्रमिक पनि आकर्षक बुझिरहेका छन् । म्यूजिक भिडियोमा पनि उनको माग उस्तै लोभलाग्दो छ । फिल्म र म्यूजिक भिडियोमा काम गरेरै कैलालीमा पक्की घर बनाएका पुष्पले सोमवार करीब ७० लाखको गाडी खरिद गरेका छन् । उनले हुन्डाइको क्रेटा गाडी आफ्नो घर भित्राएका हुन् ।
 
घर र गाडी जोडिसकेका उनी आफूले देखेका केही सपना पूरा हुँदै गएको बताउँछन् । तर, सम्पत्ति जोड्नु आफ्नो कहिल्यै ठूलो सपना नरहेको उनको भनाई छ । उनी भन्छन्, ‘यो भनेको आफ्नो आवश्यकता अनुसार जोड्दै जाने कुरा हो । तर, मेरो सधैं राम्रो कलाकार बन्ने नै सपना थियो र सधैंभरी रहिरहनेछ ।’ मनोरञ्जन दुनियाँमा लागेर जीवन चलाउन दुःख नहुने उनको अनुभव छ ।
 
पहिलो म्यूजिक भिडियोमा तीन हजार पारिश्रमिक पाउँदाको क्षण सम्झँदै उनी भन्छन्, ‘पहिलो म्यूजिक भिडियोमा काम गरेबापत पाएको पारिश्रमिकबाटै मलाई अभिनयमा लागेर जीवन चलाउन सकिन्छ भन्ने लागेको थियो । मैले संघर्षको समयदेखि आजसम्म आमा बुबासँग पैसा मागेको छैन । मिहिनेत र आफूमा विश्वास गर्ने हो भने अभिनयमा लागेर सोचेका कुरा पूरा गर्न गाह्रो हुन्न ।’ 
 
निषेधाज्ञा खुकुलो भएसँगै यतिबेला पुष्पलाई म्यूजिक भिडियोमा भ्याइनभ्याइ छ । स्थिति सामान्य भएपछि उनी निर्देशक मुकुन्द भट्टको नयाँ फिल्ममा काम गर्ने तयारीमा छन् । निषेधाज्ञाभन्दा अगाडि उनी अभिनीत फिल्म ‘कृष्ण लीला र मनसँग मन’ प्रदर्शनको मुखमा थियो । तर, कोरोनाले दुवै फिल्मको रिलिज रोकियो । उनी अभिनीत फिल्म ‘तिम्रो मेरो साथ’ पनि प्रदर्शनको पखाईमा छ ।
Most Visited News (monthly)