अभिनेत्री मिरुना मगर आइतवार आफ्नो जन्मदिन सेलिब्रेट गर्दैछिन् । २०५१ साल साउन ३ गते हङकङमा जन्मिएकी उनी २७ वर्षमा लागेकी छन् । उनलाई सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना दिनेको ओइरो लागेको छ । उनलाई केही प्रशंसकले भने आफ्नो ‘क्रस’ भन्दै ‘बर्थ-डे विस’ गरेका छन् । उनले लण्डनको ब्रुनेल यूनिभर्सिटीबाट सोसियोलोजीमा ब्याचलर गरेकी हुन् ।
पछिल्लो समय परिवारसँग बेलायतमा बस्दै आएकी उनी सानै हुँदा १३ वर्षसम्म धरानमा बसेकी थिइन् । आमा शशी थापा सुब्बाले लामो समय काट्यकर्ममा विताएका कारण मिरुनालाई बाल्यकालदेखि नै अभिनयप्रति रुचि थियो । उनले नेपाल बसाईकै क्रममा कलाकार अनुप बरालबाट अभिनय सिकेकी थिइन् । त्यसपछि उनले ‘कथादेश ३’ नामक नाटकमा मुख्य भूमिकामा काम गरिन् ।
.jpg)
नाटकमा काम गर्दै गर्दा उनलाई पहिलो फिल्म ‘लालपुर्जा’ अफर भएको थियो । यसमा उनले अभिनयका बादशाह मानिने सौगात मल्ल र विपिन कार्कीसँग स्क्रिन शेयर गर्ने मौका पाएकी थिइन् । तर, दुर्भाग्य ! उनलाई पहिलो गाँसमै ढुंगा लाग्यो । फिल्मले सिनेमा हलमा नमज्जासँग घुँडा टेक्यो, उनको अभिनय पनि रुचाइएन । यसको केही समयपछि उनको हातमा फिल्म ‘रोज’ पर्यो ।
फिल्ममा उनको जोडी अहिलेका हटकेक अभिनेता प्रदीप खड्कासँग बाँधिएको थियो । प्रदीपको क्रेजका कारण फिल्म सफल हुनेमा उनी विश्वस्त थिइन् । तर, दोस्रो पटक पनि उनले सफलताको सुख पाउन सकिनन् । यद्यपि, यो फिल्मको ‘फूल हैन’ गीतले उनलाई दर्शकको ठूलो समुहमा चिनायो । यसकारण पनि उनले ‘रोज’ लाई आफ्नो करिअरको टर्निङ पोइन्ट मान्ने गरेकी छन् ।
उनी अभिनीत तेस्रो फिल्म ‘साइनो’ हो । यो फिल्मले आफ्नो करिअरमा सफलताको साइनो गाँस्ने मिरुनाको विश्वास थियो । तर, बक्सअफिस नतिजा उनले सोचेभन्दा विपरित आयो । फ्लप फिल्मको सूचीमा अर्को नाम थपियो । उनले चौथो फिल्म ‘चच हुई’ बाट पनि हिटको सुख पाउन सकिनन् । चार फिल्मको असफलतापछि उनलाई ‘अनलक्की नायिका’ को ट्याग लागेको छ ।
‘ब्याक टू ब्याक’ फिल्म फ्लप हुन थालेपछि कलाकारले काम पाउन छाडेका उदाहरण धेरै छन् । तर, मिरुना फिल्म फ्लप हुँदा पनि कामविहीन भएकी छैनन् । लकडाउनअघि उनले अभिनेता दयाहाङ राईसँग फिल्म ‘जारी’ मा काम गरेकी थिइन् । यो फिल्म कोरोनाका कारण प्रदर्शनमा आउन सकेको छैन । उनी फेरि दयाहाङकै जोडी बनेर फिल्म ‘कबड्डी ४’ मा पनि काम गर्दैछिन् ।
करिअरको सुरुवाती समयदेखि नै सफलता कुरेर बसेकी मिरुनालाई अब ‘कबड्डी ४’ बाट ठूलो आश छ । नाम नै ब्रान्ड बनिसकेको फिल्मको अघिल्ला तीनवटै सिरिजले बक्सअफिसमा उछाल ल्याएका थिए । चौथो पार्ट पनि हिट हुने निश्चित झैँ छ । यो फिल्म सफल हुँदा सबैभन्दा बढी फाइदा मिरुनालाई हुनेछ । किनकि, चार फिल्मको असफलताले उनको करिअर संकटमा परेको छ ।

