.jpg)
किस्ताबन्दीको कोरोना महामारीका कारण नेपाली फिल्म क्षेत्र नराम्रोसँग थला परेको छ । निर्माता तथा निर्देशक अशोक शर्माको भनाई सापटी लिने हो भने कोरोनाले फिल्म क्षेत्रलाई १० वर्ष पछाडि धकलेको छ । निर्माण सकेर रिलिजको तयारीमा रहेका र अधुरैमा छायांकन रोकिएका फिल्ममाथि भएको अर्बौंको लगानी जोखिममा परेको छ भने भकाभक सिनेमा हलहरु बन्दै हुँदैछन् ।
संक्रमण घटेको भन्दै निषेधाज्ञा खुकुलो बन्दै गएपछि भीडभाड हुने प्रायः क्षेत्र खुलिसकेका छन् । तर, कोरोनाको दोस्रो चरणको महामारी सुरु भएसँगै अनिश्चितकालका लागि बन्द भएको फिल्म क्षेत्र खुलाउने विषयमा सरकार मौन छ । यतिबेला फिल्म सम्बद्ध संघ संस्थाहरुले फिल्मकर्मीलाई कोरोनाको खोप उपलब्ध गराएर फिल्म क्षेत्रलाई सञ्चालनको अनुमति दिन आग्रह गरिरहेका छन् ।
शुक्रवार चलचित्र कलाकार संघको एक टोली अर्थमन्त्री जनार्दन शर्मालाई भेट गर्दै फिल्मकर्मीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । फिल्म क्षेत्रलाई चलायमान बनाउन पहिला फिल्मकर्मी सुरक्षित हुनुपर्ने भएकाले खोप उपलब्ध गराउन माग गरेको संघका अध्यक्ष रविन्द्र खड्काले बताए । संघको भवन निर्माणका लागि पनि बजेट माग गरिएको उनको भनाई छ ।
अर्थ मन्त्रालयमा भएको भेटमा कलाकारहरुले मन्त्री शर्मासँग विषम परिस्थितिमा चलचित्र क्षेत्रलाई कसरी चलायमान गराउन सकिन्छ भनेर पनि छलफल गरेका थिए । कलाकारको मागको विषयमा आफू सकारात्मक रहेको र सक्दो सहयोग गर्ने प्रतिबद्धता मन्त्री शर्माले जनाएको अध्यक्ष खड्काले बताए । मन्त्री शर्मासँगको भेटमा भुवन केसीदेखि धिरेन शाक्यसम्म उपस्थित थिए ।

