Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

३४ वर्षमा ऋचा, फिल्मी करिअर कति सफल ?

फिल्मीखबर, काठमाडौं, 2021/07/16
नेपाली फिल्ममा औंलामा गन्न सकिने केही यस्ता अभिनेत्री छन्, जो चरित्रमा डुबेर अभिनय गर्छन् । कसरी हुन्छ आफूले पाएको चरित्रमा ‘बेस्ट’ दिन उनीहरु चुनौतीका जस्तासुकै चट्टानी पहाड फोड्न तयार हुन्छन् । ऋचा शर्मा यही कोटीमा पर्ने अभिनेत्री हुन् । यो कुरालाई दुई फिल्म ‘टलकजंग भर्सेस टुल्के’ र ‘को आफ्नो’ ले प्रमाणित गर्छ । जसमा उनको भिन्न गेटअप र चरित्र थियो ।
 
उनै, ऋचा शुक्रवार आफ्नो जन्मदिन मनाउँदैछिन् । २०४४ साल साउन १ गते धनगडीमा जन्मिएकी उनी ३४ वर्षमा लागेकी छन् । उनको बाल्यकाल कैलाली जिल्लामै वितेको थियो । फिल्ममा आउनुभन्दा अगाडि उनले सन् २००७ मा मिस नेपाल प्रतियोगितामा भाग लिएकी थिइन् । त्यहाँ उत्कृष्ट दशभित्र परेर बाहिरिएकी उनले फिल्म ‘फस्ट लभ’ बाट लिड अभिनेत्रीमा ब्रेक पाएकी थिइन् ।
 
आफ्नो एक दशक लामो करिअरमा उनले ‘मेरो लभ स्टोरी’, ‘हाइवे’, ‘लुट’, ‘सुनकेशरी’, ‘भिसा गर्ल’, ‘बाटो मुनिको फूल २’, ‘उमा’, ‘कोहलपुर एक्सप्रेस’, ‘आधा लभ’ लगायतका फिल्ममा काम गरिसकेकी छन् । प्रदर्शनको पखाईमा भने फिल्म ‘हिजो आजका कुरा’ छ । उनी अभिनयसँगै फिल्म निर्माणमा पनि सक्रिय छिन् । ‘भिसा गर्ल, आधा लभ, सुनकेसरी’ फिल्मकी निर्मात्री उनै हुन् ।
 
 
ऋचाको करिअरको सम्झनलायक फिल्मको रुपमा भने ‘टलकजंग भर्सेस टुल्के’ लाई लिने गरिन्छ । यो फिल्मबाट उनले नेपालको प्रथम राष्ट्रपति रामवरण यादवको हातबाट उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय अवार्ड जित्न सफल भएकी थिइन् । उनी स्वयं पनि आफ्नो करिअरको उत्कृष्ट फिल्म ‘टलकजंग’ लाई मान्छिन् । निश्चल बस्नेत निर्देशित फिल्ममा उनी थारु महिलाको भूमिकामा थिइन् ।
 
अभिनयमा विविधता र फिल्ममा आफ्नो चरित्रलाई न्याय गर्नसक्ने क्षमता भए पनि ऋचाले आफ्नै नामको भरमा फिल्म विकाउन सक्ने स्टारडम भने बनाउन सकिनन् । तर, एउटा कलाकारको मापन अभिनय क्षमताका आधारमा हुने भएकाले तुलनात्मक रुपमा ऋचाको फिल्मी करिअरलाई सफल मान्न सकिन्छ । अभिनयकै कारण उनले फिल्म क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाएकी छन् ।
 
फिल्म ‘छक्का पञ्जा’ को एक सिनलाई लिएर आपत्ति जनाएपछि विवादमा समेत तानिएकी उनलाई दीपकराज गिरी समुहले ‘फ्लप हिरोइन’ को संज्ञा दिएको थियो । अहिले उनी ‘कमेडी च्याम्पियन’ दोस्रो सिजनको जज प्यानलमा छिन् । कोरोना महामारीपछि उनले नयाँ फिल्म साइन गरेकी छैनन् । २०७६ साल मंसिरमा दिपेक्ष राणासँग लगनगाँठो कसेकी उनी यसै वर्ष आमा बन्दैछिन् । 
Most Visited News (monthly)